काठमाडौं सेप्टेम्बर २१ ।

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सनले ‘विदेशी फिल्म’को रुपमा सेन्सरको अनुमति पाएको छ ।
चलचित्रको निर्माण पक्षले हिन्दी भर्सनका लागि १५ प्रतिशत विकास शुल्क तिर्ने सहमति जनाएपछि चलिचत्र विकास बोर्डले सेन्सरको प्रक्रिया अगाडि बढाउने भएको हो । यसअघि निर्माण पक्षले हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नका लागि नेपाली फिल्म सरह सेवा(सुविधा दिन विकास बोर्डमा निवेदन दिएको थियो । विकास बोर्डको अनुमति नै नलिइ डब गरिएको चलचित्रलाई स्वदेशी चलचित्रको जस्तै सुविधा दिन नसकिने भन्दै विवाद हुँदै आएको थियो ।
अन्तत निर्माण पक्ष विदेश फिल्मले जस्तै १५ प्रतिशत शुल्क तिर्न राजी भएपछि चलचित्रको सेन्सर प्रक्रिया अगाडि बढ्ने भएको हो। बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र प्रदान गरेका छन् । फिल्मको नेपाली भर्सनको भने सेन्सर भइसकेको छ । साथै चलचित्रका वितरकले चलचित्रको भन्सार शुल्कबापत २० हजार रुपैयाँ समेत तिरेका छन्। अब चलचित्रको हिन्दी डबले नेपालमा गर्ने कमाइको १५ प्रतिशत शुल्क सरकारलाई तिर्नुपर्नेछ ।
चलचित्र ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ ।






