लन्डन २३ सेप्टेम्बर २०२२ । ग्रीनवीच भलीबल परिवारले घान्द्रुकको मेश्रम बराह स्कुलको कक्षा ११ र १२ स्तरोन्नति लागिको सहयोगार्थ चलचित्र ‘शिरसुबा’ प्लमस्टिडको वोर्किङ म्यान्स क्लबमा भव्य प्रदर्शन गरेको छ ।
चलचित्र प्रदर्शनमा ग्रीनवीच बोरो काउन्सिलका काउन्सिलर जीव रानाभाट, तमुधिं लन्डन इकाईका अध्यक्ष ह्यारी गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, ग्रीनवीच युथका अध्यक्ष लछमन गुरुङ र उपाअध्यक्ष डा. सुदर्शन गुरुङ, एनआरएन यूकेका पूर्वसचिव फणीन्द्र भट्टराई, जमघट परिवारका अध्यक्ष ब्रुस कुमार, क्वोंने (घोताने/घोन्डे) तमु समाज यूकेको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ र उनको श्रीमान् नारायनबहादुर गुरुङ एमभिओ, समाजसेवी पबित्र गुरुङ, ग्रीनवीच परिवारका सम्पूर्ण सदस्यलगायत नेपाली चलचित्रप्रेमी करिब १५० जना सहभागी थिए ।
कार्यक्रम ग्रीनवीच परिवारका सचिव उमेशचन्द्र ठकुरीले सञ्चालन गरेका थिए भने निर्माता बिमल गुरुङले उपस्थित सबै जनालाई चलचित्र हेर्न आएकोमा धन्यवाद दिए । २ घन्टाको चलचित्र हेर्न प्राय: युवा वर्गका दर्शकहरु बढी थिए र अन्य गैर गुरुङहरुले चलचित्र गुरुङ चलचित्र नभई नेपाली चलचित्र नै हो भन्ने प्रतिक्रिया जनाए ।
दर्शकले चलचित्र हेरी गाउँको स्कुललाई सहयोग गरी पुन्य काम गरेको भन्दै निर्माता गुरुङले सबैलाई धन्यवाद दिए । साथै यस चलचित्र प्रदर्शनमा व्यवस्थापनमा विशेष सहयोग गर्ने अनिल गुरुङ, अमर गुरुङ, उमेशचन्द्र ठकुरी र मनिष गुरुङलाई विशेष धन्यवाद दिइएको थियो ।
शिरसुबा चलचित्र पहिलो चरण स्वीन्डन, अल्डरसट, योर्क र प्लमस्टिडमा प्रदर्शन भएको थियो । अब तिहारपछि रेडिङलगायत अन्य ठाउँमा दर्शकको मागअनुसार प्रदर्शन गरिने निर्माता गुरुङले बताए ।






