
पाँचथर ११ नोभेम्बर २०२२ । किरात याक्थुङ चुम्लुङ युके शाखा र एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तथा समाजसेवी नगेन्द्रराज नेम्वाङको संयुक्त पहलमा पाँचथरको इम्बुङमा अपांगता भएकाहरुलाई राहत वितरण गरिएको छ ।
शारीरिक अशक्तता भएकाहरु पुजन चेम्जोङ, कोतिमाया नेम्वाङ, प्रदीप नेम्वाङ, सुन्दर तामाङ, भिम असाइ नेम्वाङ र सुशीला नेम्वाङलाई जनही १४ हजार रुपैयाँ वितरण गरिएको हो । जम्मा ८४ हजार रुपैयाँ राहत वितरण गरिएको एलबी नेम्वाङ लिम्बुले जानकारी दिए । जन्मिदा सपाङ्ग पुजन चेम्जोङ कुपोषणको कारण अपांग भएका हुन् । उनको स्वास्थ्य दिनदिनै जर्जर हुँदै गएकोले यूट्यूबर राजेन्द्र केरुङमार्फत देस- विदेशमा सहयोगको अपिल पनि गरिएको छ ।
राहतको पहल गर्ने नगेन्द्रराज नेम्वाङ, राहत विरणमा सहयोगी बन्ने वडा सदस्य तथा जनप्रतिनिधि सागर नेम्वाङ, युवा नेता डिल्लीहाङ नेम्वाङ, मिडियाका लागि पहल गर्ने मनोक्रान्ति योगी गजेन्द्रराज नेम्वाङ, संचारकर्मी राजेन्द्र केरुङलगायत सहभागी थिए ।









