काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाका राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका प्रहरीले जनाएको छ । उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए ।काठमाडौं प्रहरी परिसरका अनुसार उनले शुक्रबार बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेका थिए ।
गत माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । घटना लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो । घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।
प्रकाशित : ३० चैत २०७४






