
लन्डन ९ मे २०२४ । पछिल्लो पुस्ताकी चर्चित नायिका मिरुना मगर गत हप्तामात्रै रिलिज भएको नेपाली चलचित्र ‘मनसरा’लिएर बेलायत आएकी छन् ।
यही शनिबार बेलायतको फानबोरोस्थित भ्यू सिनेमामा हुने प्रिमियर शोका लागि बुधबार ८ मेका दिन नायिका मिरुना लन्डन आइपुगेकी हुन् । नायिका मिरूनालाई हिथ्रो एयरपोर्टमा बेलायतवासी नेपालीहरुले स्वागत गरेका थिए ।
कवि तथा लेखक अहिलेका चर्चित निर्देशक उपेन्द्र सुब्बा निर्देशित मनसरा मे ११ तारिख (शनिबार) बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ । प्रदर्शनको जिम्मा गोर्खा वरीयर्स ईभेन्टस्ले लिएको छ ।
‘मनसरा’मा दयाहाङ राई र मिरुनाको शीर्ष भूमिका रहेको छ । फिल्म वैशाख २१ गते रिलिज भएको हो । फिल्ममा मिरुनाले मनसराको केन्द्रीय चरित्रमा अभिनय गरेकी छन् । पोस्टरमा उनको क्यारेक्टर अवतार प्रस्तुत गरिएको छ । यो नारीप्रधान फिल्मलाई ग्रामीण सेटिङमा तयार पारिएको छ ।
पोस्टरमा मिरुनाको पात्र झोला बोकेर कतै हतासमा हिँडिरहेको महसुस गर्न सकिन्छ । निर्देशक सुब्बाले फिल्म महिलाको मनोदशा र सामाजिक उपस्थितिको कथावस्तुमा आधारित हुने बताएका छन् । पोस्टर हेर्दा अर्गानिक ‘सिनेम्याटिक भिजुअल’ महसुस हुन्छ । यो फिल्ममा मेनुका प्रधान र प्रवीण खतिवडाको समेत अभिनय छ । ‘कबड्डी’जस्ता चर्चित फिल्म छायांकन गरेका शैलैन्द्रध्वज कार्की यस फिल्मका निर्माता हुन् । कार्कीले निर्माण गरेको यो पहिलो फिल्म हो ।






