
चिम्खोले काईला – बेलायत
चिम्खोलामा थाली नृत्य कसरी र कहिले शुरु भयो? कसले भित्र्याए यस थाली नृत्य? भन्ने इतिहाँसको खोजी गर्न जरुरी छ जस्तो लाग्छ। त्यसैले थाली नाँचको इतिहाँस खोताल्दै जानु पर्ने हुन्छ। चिम्खोलामा सर्बप्रथम थाली नृत्य भित्र्याउने व्यक्ति स्वर्गीय हवल्दार थमान पुन थिए। तर आजभोली उनको नाम लगभक गुमनाम जस्तै भएको छ।
स्वर्गीय थमन पुन बिक्रम संबत २०१३ सालमा भारतीय सेनाबाट घर बिदामा आफ्नो घर चिमखोला आएका थिए । उनि घर बिदामा रहेको समयमा उनको कान्छी बहिनी जमया पुनको शुभविबहा परेछ । आफ्नो कान्छी बहिनीको शुभविबहाको खुशियालीमा गाउँको परम्परा अन्तर्गत थमान पुन मादले मारुनी (पुर्ख्यौली) नृत्यमा मारुनी बनेर नाचेछन् । मादले मारुनी (पुर्ख्यौली) नृत्य गरे पश्च्यात उनले चिम्खोलामा सर्बप्रथम थाली नृत्य र खुकुरी नृत्य प्रस्तुत पनि गरेका थिए। तत्कालिन समयमा दुवै नृत्यहरु थाली नृत्य र खुकुरी नृत्य पहिलो पटक देखेर उपस्थित चिम्खोलेहरु आश्चार्य चकित भएका थिए रे । थमान पुनले चिम्खोलामा पहिलो पटक सेतो हड्डीको थाली नचाएका थिए भनेर प्रत्यक्षदर्शिहरु भन्छन।
थमान पुनको थाली नृत्यबाट प्रभावित बनेका उनको भाइ खलक तथा जिम्माल खलकको बहिनी हिरा माया पुनले थाली नृत्य टप्पक्कै सिकिन् र थमान पुनले जस्तै गरेर थाली नचाउन शुरु गरिन् । हिरा माया पुनले थाली नृत्यबाट चिमखोलालाई चिनाउनमा ठुलो योगदान रहेको छ। त्यस्तै गरि चिम्खोलाका अन्य कलाकारहरुको यस थाली नृत्यलाई निरन्तरता दिएको कारणले गर्दा थाली नृत्य नेपाललगायत विस्वका बिभिन्न देशहरुमा थाली नृत्य लोकप्रियता बढिरहेको छ।
स्वर्गीय हवल्दार थमान पुन तत्कालिन मुस्ताङ जिल्ला चिम्खोला गाउँ पंचायत हाल साबिकको म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोला, निवासी स्वर्गीय जिम्माल बल बहादुर पुनका माहिला छोरा थिए । स्वर्गीय थमन पुन सन् १९२३ सालमा चिम्खोलामा जन्मिएका थिए भने सन् १९४३ सालमा भारतीय सेनामा आबद्ध भएका थिए। उनको आर्मी नम्बर ५७३३१७३ हो। उनि भारतीय सेनाको आधारभुत तालिम सके पश्च्यात उनि २/८ गोर्खा राइफल्समा आबद्ध भएका थिए। स्वर्गीय थमान पुन २/८ गोर्खा राइफल्स तथा भारतीय सेनाका एक इमान्दारी, बफादारी, कर्तव्यनिष्ठ र अनुसाशित सैनिक थिए।
धेरै बर्ष अगाडी बेलायतले भारतमा राज गर्दथ्यो। सो समयमा नेपालीहरु बेलायती गोर्खा सेनामा कार्यरत थिए। बेलायतीहरुको मातहतमा रहेर हरेक कार्यहरु गर्दा लाइनमा बस्न पर्दथ्यो तथा आफ्नो पालो पर्खनु पर्दथ्यो। थाली नृत्यको प्रशंग जोदिरहदा भारतीय गोर्खा सेनाहरुले बिशेष गरेर बिहानको खाजा, दिउसोको खाना र बेलुकीको खाना थप्न जादा एउटा थाली लिएर आफ्नो पालो पर्खेर लाइनमा बस्न पर्दथ्यो। आफ्नो पालो पर्खेर लाइनमा बस्दा केहि समय पर्खनु पर्ने तथा केहि समय धैर्य गर्नु पर्ने हुन्थ्यो। सो पर्खने तथा धैर्य गर्ने समयमा गोर्खा सेनाहरुले आफुसंग भएको थालीलाई औलोको टुप्पोमा राखेर घुमाउने तथा हातमा राखेर नचाउने चलन थियो। सोहि घुमाउने र नचाउनेक्रममा चिमखोला निवासी थमन पुनले सर्बप्रथम थाली नृत्यमा परिणत गरेका थिए। तत्कालिन समयमा थमन पुनले भारतीय गोर्खा सेनाले आयोजना गरको बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुमा तथा बिभिन्न अवसरहरुमा थाली नृत्यको थालनी गरेका थिए।
थमान पुनले भारतीय सेनामा कार्यरत रहदा थाली नृत्यको श्री गणेश गरिसकेका थिए। स्वर्गीय थमन पुन एक संगीतप्रेमी तथा कुशल नृत्यकार थिए। थमान पुनले भारतीय सेनामा कायर्रत रहदा अन्तर बटालियन थाली नृत्य र खुकुरी नृत्य प्रतियोगिताहरुमा २/८ गोर्खा राईफल्सको तर्फबाट प्रतिनिधित्व गर्दथे। उनले थाली नृत्य र खुकुरी नृत्यमा धेरै पदकहरुबाट पुरुस्कृत हुन्थे भनेर प्रत्यक्षदर्शिहरु भन्दछन् ।
थमान पुन एक शिक्षाप्रेमी, समाजसेवी, संगीतप्रेमी तथा बहुआयमिक व्यक्तित्वका धनि व्यक्ति थिए। उनले हरेक घर बिदामा चिमखोला आउदा गाउँका बालबालिकाहरु जम्मा गरेर स्कुल पढाउथे रे। मादले मारुनी (पुर्ख्यौली) नृत्यमा मारुनी नाचेर जागिरमा फर्कन्थे रे । त्यस्तै उनले चिम्खोलामा थाली नृत्य र खुकुरी नृत्य गरेर गाउँलाई चकित पारेर रुदै जागिरमा फर्कन्थे रे भनेर प्रत्यक्षदर्शीहरु भन्दछन् ।
स्वर्गीय थमान पुनको मृतु भारत र चीन बिचको लडाइमा सन् १९६२ भारतको अरुनाञ्चल प्रदेशको नेफामा भएको थियो। अत्याधिक हिउँ बर्षादको कारणले उनको लास प्राप्त गर्न नसकिएको अनुमान गरिएको छ।
घर बिदामा रहेको समयमा चिम्खोलामा थाली नृत्य र खुकुरी नृत्य गरेर गाउँलाई चकित पारेर रुदै जागिरमा फर्केका थमान पुन फर्केर कहिल्यै चिमखोला आएनन्। उनका श्रीमती पवित्रा देबीको स्वर्गरोहण भैसकेको छ। छोरा कृष्ण बहादुर पुन चिमखोला निवासी हाल बाग्लुङ निवासी हुन् भने छोरी सेती माया पुन चिमखोला निवासी हाल पोखरा निवासी हुन्।
प्रत्यक्षदर्शीहरु: सुबेदार नन्द प्रसाद पुन – चिमखोला, प्रेम बहादुर पुन (सचिब) – चिमखोलालगायत अन्य धेरै।
समाग्री उपलब्ध गराउने: कृष्ण बहादुर पुन (थमान पुनको छोरा) चिमखोला






