काठमाडौं २ अगस्ट २०२४ । म्याग्दी बेगखोलाकी २५ वर्षीया ललिता शेर्बुजा मिस नेपालको प्रतिस्पर्धामा छिन् ।
अष्ट्रेलियामा शिक्षा संकायमा स्नातक गरेकी ललिता विभिन्न चरण पार गरी टपटेनभित्र परेकी हुन् । उनले देशभरिबाट ५ सयजना, त्यसबाट १ सय ५० जना, त्यसपछि ३७ जना, अनि त्यसपछि २६ जना छनौट भएकी हुन् ।
परिवारकी तेस्रो सन्तान ललिता सानै उमेरदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।
म्याग्दीलाई संसारभरि चिनाउन र स्वर्गीय आमाको अधुरो सपना पूरा गर्न ललिताले आफु मिस नेपाल प्रतियोगितामा होमिएको बताउँछिन् । उनले भनिन् – ‘मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउन त्यति सजिलो रहेनछ, हरेक दिन फरक-फरक गेटअपमा प्रस्तुत हुनुपर्ने, यसको प्रक्रिया पनि लामो हुने भएकोले त्यतिकै समय दिन सक्नुपर्ने जस्ता कारण यो निकै खर्चिलो पनि छ, अष्ट्रेलियामै रहनुभएका दिदीभिनाजूको फिनान्सियल सपोर्ट र प्रेरणाबाट मलाई यो अभियानमा अगाडि बढ्न संभव भएको हो ।’
सन् २०१६ मा भएको ‘मिस एसएलसी पोखरा’ को फिनालेमा १७ जना प्रतिस्पर्धीबाट फर्स्ट रनर अप भएकी ललिताले त्यतिबेला पाएकी ताज आफ्नी आमाले जतनका साथ राखेकी रहिछन् ।
मिस नेपालको परिणाम जे जस्तो आए पनि ललिताले भविष्यको योजना सुनाउँदै भनिन् – ‘म नेपालको दुरदराजका नेपाली जनजीवनसंग नजिकबाट चिरपरिचित छु, हाम्रा गाउँघरमा जनचेतनाको ज्यादै नै खाँचो छ, भविष्यमा एउटी राम्रो पब्लिक स्पिकर बनेर गाउँ गाउँमा पुगेर पिछडिएका महिला तथा ग्रामीण जनताहरुमा चेतना भर्ने काम गर्न चाहन्छु । उनीहरुमा उत्प्रेरणा भरेर अगाडि बढ्न सक्षम भएको हेर्न चाहन्छु ।’
मिस नेपालको प्रतियोगिताबाटै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल विधामा प्रतिस्पर्धा हुनेछ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।
प्रस्तुति : तिलक मल्ल






