लन्डन २० अगस्ट २०२४ । बेलायतमा नेपाली कथानक चलचित्र ‘काँडेतार’को प्रदर्शन आउँदो सेप्टेम्बर १५ तारिखमा हुने भएको छ ।
चेली माइती इन्टरटेन्मेन्ट र न्यु होराइजनको सहकार्यमा काँडेतार सेप्टेम्बर १५ तारिख आइबार अल्डरसटको एम्पायर हलमा दिउँसो १ बजे पहिलो सो हुने भएको हो । सोही दिन दिउँसो साढे ४ बजे दोस्रो सो गरेर बेलायतका विभिन्न स्थानमा ‘काँडेतार’ कार्यकारी निर्मातासमेत रहेकी गायिका राई र सहनिर्माताहरूको उपस्थितिमा प्रदर्शन हुनेछ ।
सेन्सर गरेर आफ्नो चलचित्रको मर्म नै धरापमा पारेको र प्रदर्शनका क्रममा पनि अनेक बाधा व्यवधानका कारण प्रदर्शन रोक्न बाध्य पारिएकाले दर्शक दीर्घामा आफैले पुर्याएर प्रदर्शन गर्न प्रयास गर्ने निर्देशक नवल खड्काले जनाएका छन् ।
काँडेतारमा नबल खड्का, गौरव पहाडी, सुराविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता खड्काकै निर्देशन एवं शिवम अधिकारी र नबल खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।
संगीतकार मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ । नबल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् ।
चलचित्र काँडेतारले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको नेपालीमाथि अत्याचार र नेपाली भूमिमाथि भइरहेको हस्तक्षेप उजागर गर्दै भारतीय विस्तारवादविरुद्ध जुरमुराउनु पर्ने सन्देश दिएको छ । नेपाली भूमि र सीमा क्षेत्रमा बस्ने नेपालीको सुरक्षाका लागि सिमानामा काँडेतार लगाउनु पर्ने चलचित्र काँडेतारको जोड छ । सो चलचित्रमा कैलालीको मोहना नदी पारि रहेको सीमावर्ती नेपाली गाउँ हौसलपुर, शिवरत्नपुर, मोहनपुरको समस्यादेखि लिएर सीमा सुरक्षा गर्ने क्रममा कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमले ज्यान गुमाउनु परेको घटनासमेत उजागर गरिएको छ ।
नेपालका नेता, चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवी र देशभक्तहरूले राम्रो प्रतिक्रिया दिए पनि सहज तरिकाले चलचित्र चल्ने वातावरण भने नमिलेको निर्माण पक्षले जनाएको छ । आफ्नो अस्मितामाथि धावा बोल्नेका विरुद्ध उभिन आँट गर्न जागरूक बनाउने र सिमानामा काँडेतार लगाएर देशको सुरक्षा गर्नु पर्ने कथा यस चलचित्रले बोकेको छ। यही कारण नायक तथा निर्देशक नबल खड्काले चलचित्र चलिरहेकै अवस्थामा प्रदर्शन रोकेर हलबाट उतारेका थिए ।






