काठमाडौं । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको थियो ।
समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् ।
संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च ९टुँडिखेल० मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन् ।
आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै उहाँले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए ।
सङ्घीय प्रणाली नेपालको नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा यसले पूर्णता पाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, “सङ्घीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क÷वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ । नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ ।”
उहाँले संविधानमा कतै छेउकुना नमिलेको भए वा कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने र अमिल्दा देखिएको विषयको परिमार्जन र संशोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
अधिकार प्राप्तिको राजनीतिक आन्दोलनको चरण र प्रयोग सकिएकाले अब शान्तिपूर्ण, सशक्त वा सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै इतिहास बन्नुपर्नेमा जोड दिँदै उनले भने, “अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै पनि प्रकृतिको जबर्जस्ती र अनुचित क्रियाकलाप आवश्यक छैन ।”
प्रधानमन्त्री ओलीले विवेकहीन नहुने र राज्यले विधि मिच्न मिल्दैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै उहाँले राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकायले एउटै लयमा समाउनुपर्ने आग्रह गरे ।
कर्यक्रममा ‘संविधान दिवस २०७५’ लेखिएको ब्यानर अङ्कित नेपाली सेनाको चार वटा हेलिकोप्टरमा पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका तर्फबाट मार्चपास तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो । काठमाडौँ र ललितपुर महानगरपालिका तथा उपत्यकास्थित स्थानीय तहबाट झाँकी प्रस्तुति गरिएको थियो भने राष्ट्रिय भावनाका गीत प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
‘देश समुन्नतिको मार्गमा बढ्ने विश्वास’
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने बताए ।






