
लन्डन ४ अक्टोबर २०२४ । बेलायतमै सक्रिय सामाजिक संस्था तमु धीं यूकेले विपत्तिमा परेका नेपालीका लागि राहत अभियान थालेको छ ।
नेपालमा यही असोज ११ र १२ गते अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा प्रभावित नागरिकका लागि तमु धीं यूकेले सहयोग उठाउन थालेको हो । सहयोग अभियानको प्रथम चरणमा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ र आमा समूह अध्यक्ष सन्ध्या गुरुङले १ सय १ पाउन्ड, यशोदा गुरुङ, मञ्जु गुरुङ राई, मिन प्रसाद गुरुङ, भीम महेन्द्र गुरुङले २५/२५ पाउन्ड सहयोग गरेका छन् । तमु धीं यूकेले १० हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेको छ ।
‘अहिले कसैसँग नछुपेको कुरा के हो भने नेपालमा आइपरेको विपत्ति । पहिरो र बाढीले नेपाल आमालाई क्षत् विक्षत् बनाएको छ, हाम्रा दाज्यूभाइ र दिदीबहिनीहरु घरबारविहीन हुन पुगेका छन् । कृषिप्रधान भनेर चिनिने देशमा छाक टार्न धौ धौ भएको छ । हाम्रो देश दुख्दा संधै रुने तमु धीं यूकेका परोपकारी तमुहरु फेरि रोएका छन्,’ तमु धीं यूकेको सहयोग अभियान टिमले लेखेको छ,’
हामीलाई चौतर्फी रुपमा आह्वान आएकोले हामीले राहतमा हाम्फालेका छौं । कृपया यो लिंक प्रयोग गरी स्वेच्छाले धेरै थोरै सहयोग गरौं, असहज भएमा हाम्रो ब्यांकमा हालेर सहकोषाध्यक्ष दुर्गा गुरुंगलाई खबर गरौं र केही भए पनि दुखेका मनहरुमा मल्हम लगाउँ । तमु धीं यूकेको जय होस्, सबै परोपकारी मनहरुको जय होस् ।’
तमु धीं यूकेले सहयोगका लागि https://www.justgiving.com/page/floodrelieffund लिङ्क दिएको छ ।
पछिल्लो तथ्यांक अनुसार हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।






