
लन्डन १४ अक्टोबर २०२४ । नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरुका लागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र नेपाल जनप्रगतिशील मञ्च बेलायतले सहयोग हस्तान्तरण गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) आबद्ध मञ्च र गेसोले सोमबार तीन लाख रुपैयाँ बराबरको अत्यावश्यक उपभोग्य सामग्री २५० थान सिरक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरिएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं अन्तर महादेशीय प्रवास, प्रदेश समितिको सह इन्चार्जसमेत रहेका राईले विपदको घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतात्माको चीर शान्तिको कामना गर्दै श्रद्धान्जलि अर्पण गरेका छन् ।
२०८१ असोज १०, ११ र १२ गते नेपालमा भएको अविरल वर्षाको कारण निम्तिएको बाढी, पहिरो र डुबानका कारण २ सय ५० जना हाराहारीमा मानिसले ज्यान गुमाए भने कयौं घरबारविहीन भएका छन् ।







