
लन्डन १६ अक्टोबर २०२४ । संयुक्त अधिराज्य (बेलायत)को वेल्स, ब्रेकनमा भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास’मा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ ।
अशोज २३ गतेबाट २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको नेपाली सेनाले जनाएको छ । अभ्यासमा बेलायतसहित ३७ राष्ट्रका १ सय २१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।
दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइँको तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । यससँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपक कुमार बानियाँ सम्मानित अतिथिको रुपमा सहभागी थिए ।






