लन्डन १६ अक्टोबर २०२४ । बेलायतवासी समाजसेवी पुनम वनेम नेम्बाङले बाढीपहिरोबाट अतिप्रभावित परिवारलाई राहत प्रदान गरेकी छन् ।
असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाको कारण निम्तिएको बाढीपहिरोबाट पीडित पाँचथरको फिदिमका विभिन्न वडाको नागरिकका प्रतिपरिवार पुनमले व्यक्तिगत नै नगद १० हजार र १/१ बोरा चामल सहयोग गरेकी हुन् । सहयोग पाउनेहरुमा फिदिम-१४ का धनरानी राई (बास्बोटे), मेरिना राई (ठोट्नेबारी), कुन्ति वनेम (दिगोम्बा), फिदिम-१३ का सुमन राई (खालिङ्खोक) र युद्धकुमार राई (जरबोटे) छन् ।

राहत वितरण फिदिम-१४ का वडा अध्यक्ष राजन नेम्बाङ, मन्जित फागो वनेमलगायतले गरेका थिए । समाजसेवी पुनम नेम्बाङले पीडितलाई सहयोग हस्तान्तरण गरिदिएकोमा वडाध्यक्षलगायत सबैलाई धन्यवाद दिँदै विपद्को घडीमा सहयोग गरिदिन अपिल समेत गरेकी छन् ।
‘विपतमा परेका पीडितहरुलाई जतिसकेको सबैले सहयोग गरौं, आशा छ, मेरो यो सानो सहयोगले पीडितलाई थोरै भए पनि राहत मिल्नेछ ।’







