एटा संवाददाता
अल्डरसट । तमुधिं युकेको निमन्त्रणामा दसौं नेपाली मेलाको उद्घोषकको रुपमा नेपालबाट आएकी एकमात्र गुरुङ भाषाको टेलिभिजन कार्यक्रम ‘तमुमै ताँ’ का प्रस्तोता पुनम गुरूङले एक कार्यक्रमबीच विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिएकी छन् ।
आफ्नो एक महिनाभन्दा लामो बेलायत भ्रमणलाई सफल बनाउन सहयोग गरेका विभिन्न संघसंस्था एवं व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्न गत आइतबार २३ सेप्टेम्बरका बेलुकी अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नायिका एवं संचारकर्मी गुरुङले आपूmलाई निमन्त्रणा गर्ने तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङलगायत सल्लाहकार, आजीवन सदस्य र सिङ्गो कार्यसमितिलाई बिशेष धन्यवाद दिइन् । त्यस्तै, उनले तमुधिं लण्डन आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर (रि) खुशीमान गुरुङ एमभिओ, निवर्तमान अध्यक्ष सोम त्होर्जे तमुलगायतलाई समेत धन्यवाद दिइन् ।
तमुधिं युकेले गत १४ अप्रिलदेखि २१ अप्रिलमा गरेको तमुहरुको ऐतिहासिक थलो क्होला सोंथर भ्रमणको क्रममा तमुधिं युकेसँग अझ नजिक भएको स्मरण गरिन् । उनले आपूmलाई भ्रमण गराउने, विभिन्न कार्यक्रममा बोलाउने, सल्लाह, सुझाव तथा आशिर्वाद दिने सबै उपस्थित महानुभावहरुलाई धन्यवाद सहित मायाको चिनो प्रदान गरिन् । सो अवसरमा उपस्थित महानुभावहरुले उनलाई खादा लगाई बिदाई समेत गरे । गत १७ अगष्टका दिन लण्डन उत्रेकी नायिका गुरुङ २९ सेप्टेम्बरका दिन नेपाल फर्कदै छिन् । कार्यक्रममा तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङले सबै उपस्थित महानुभावहरुको परिचय गराएका थिए ।






