काठमाडौं ७ जनवरी २०२५ । यूकेमा रहेका संघसंस्थामध्येको एक अग्रणी संस्था तमु धीं यूकेले ऐतिहासिक गाउँ सिक्लेसको भ्रमण गरेको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा सहारा यूके, घोताने परिवार यूकेको टोलीले ५ र ६ जनवरीमा सिक्लेस गाउँको भ्रमण गरेका हुन् । उक्त भ्रमणको सहजीकरण तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ र पूर्वअध्यक्ष नन्दजंग गुरुङले गरेका हुन् ।
सिक्लेस युवा क्लब, सिक्लेस आमा समूह र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थितिमा बाजागाजासहित स्वागतपश्चात् परम्परागत सभास्थल सभाच्होमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । ल्हौरी, पच्यु र लमले प्हैरु लगाई आशीर्वाद दिइएको कार्यक्रममा सिक्लेसवासीको तर्फबाट वडाध्यक्ष देवीजंग गुरुङले मायाको चिनोसमेत प्रदान गरेका थिए । सोही स्थानमा लोपोन्मुख घाँटु नृत्यसमेत देखाइएका थिए भने तमु धीं यूकेले धप्राङ्गथर घाँटु समूहलाई ३० हजार सहयोग गरेको थियो । तत्पश्चात् चिली क्होंईबो, गुम्बा, नम्जु चिउली युउंला क्होईबो, सिक्लेस गाउँ अवलोकन भ्रमण गरिएको थियो ।
सिक्लेस आमा समूह, सिक्लेस युवा क्लबले बेलुका सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए भने सो कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र उनको धर्मपत्नी कमलादेवी गुरुङले सिक्लेस युवा क्लबलाई ५० हजार, सिक्लेस आमा समूहलाई ५० हजार, चिली क्होंईबोलाई ५० हजार र नम्जु चिउली युंउला क्होंईबोलाई ५० हजार प्रदान गरेका थिए ।
सोही कार्यक्रममा तमु धीं यूकेको तर्फबाट सिक्लेस युवा क्लबलाई १ लाख, सिक्लेस आमा समूहलाई १ लाख, त्यसैगरी सहारा यूकेको तर्फबाट सिक्लेस युवा क्लब र आमा समूहलाई ५५ हजार, सहारा यूकेको अध्यक्ष कृष्ण गुरुङको दम्पतीको तर्फबाट युवा क्लब र आमा समूहलाई ५० हजार, घोताने परिवार यूकेको तर्फबाट युवा क्लब र आमा समूहलाई ५०,१०० र सांस्कृतिक कार्यक्रममा ७४,८५० गरी कुल ६,२९,९५०/- सहयोग रकम प्रदान गरेका थिए ।
ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय गाउँ सिक्लेसको भ्रमण गरी ठूलो सहयोग गरेकोमा तमु धीं यूके परिवारलाई धेरै-धेरै आभार व्यक्त गरिएको थियो ।
तस्बिरहरु : पार्वती गुरुङ







