लन्डन ९ जनवरी २०२५ । नेपाली चलचित्र ‘अञ्जिला’को १५ फेब्रुअरीमा बेलायतमा ग्रान्ड प्रिमियर हुने भएको छ ।
यही फेब्रुअरी १५ तारिखमा अल्डरसटको एम्पायर हलमा तय ‘अञ्जिला’को प्रिमियर शो हुन लागेको हो । उक्त शोका लागि चर्चित निर्देशक मिलन चाम्स,चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ शुक्रबार बेलुका लन्डन उत्रिएका छन् । उनीहरुलाई हिथ्रो विमानस्थलमा चलचित्रका निर्माता एवं व्यवसायी सुमन राई, आकाश सुनुवार, अभिनेता रितेश चाम्स, सन्तोष सुवेदी, निर्माता टुवेन्द्र लिम्बूलगायतले स्वागत गरेका थिए ।
नेपाली राष्ट्रिय महिला फुटबलर एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा निर्माण भएको चलचित्र ‘अञ्जिला’मा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङसहितका चर्चित कलाकारसमेतको अभिनय छ ।
बेलायत उत्रिएपछि निर्देशक चाम्सले फेब्रुअरी १५ को प्रिमियर शोमा सहभागी हुन बेलायतवासी नेपाली दर्शकलाई निम्तो गरेका छन् । निर्माता सुमन राईले प्रिमियर शोमा सिट सीमित हुने भएकाले समयमै टिकट सुरक्षित गर्न आग्रह गरेका छन् ।







