लेखक : सञ्जय सिञ्जली मगर✍️
तानसेनबाट १३ किलोमिटर उत्तरमा रानीमहल रहेको छ । रानी तेजकुमारीले भारतमा रहेको ताजमहलजस्तै नेपालमा पनि एउटा महल बनाउने इच्छा व्यक्त गरेपछि खडग शमशेरले रानी महल बनाएका थिए । रानीको सम्झनामा बनाइएकाले यो महललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । सुरुमा यो महलको नाम ‘तेजमहल’ राखिएको थियो । पछि यसलाई रानीमहल भन्न थालिएको हो । अहिले प्रदेश नम्वर पाचँ तानसेन, नगरपालिका–१३ रहेको यो महललाई नेपालको ताजमहल भन्ने गरिन्छ । महलको छेउबाट कालीगण्डकी बगेको छ । रानी महलमा कालीगण्डकी उत्तरतर्फ बगेको छ । नदी उत्तरतर्फ बगेको विश्वमा कमै सुन्न र देख्न पाइन्छ । रानी महल पुगेका पर्यटक उत्तरतर्फ बगेको कालीगण्डकी देखेर अचम्म मान्ने गर्छन् । कालीगण्डकी धेरै ठाउमा नागबेली हुँदै बगेको छ । जुन हेरिरहौँ जस्तो लाग्छ । महलतर्फको क्षेत्र पाल्पा जिल्ला पर्दछ भने नदीपारि स्याङजा जिल्ला पर्दछ । रानी महलपारिको सटुका गाउँ उस्तै लोभलाग्दो देखिन्छ । रानी महल पुगेका पर्यटकहरुलाई सटुका गाउँ देखेर एकरात बिताउन त्यतै जाउँजाउँ बनाउँछ ।
आज भन्दा एक सय २० वर्षअघि बनाइएको ऐतिहासिक महल आजभोली पर्यटकको गन्तब्य बनेको छ । पछिल्लो समय रानी महल ‘लभर्स प्वाइन्ट’का रुपमा परिणत भएको छ । त्यस्तै खडग शमशेरद्वारा निर्मित तानसेनको शीतलपाटीको इतिहास पनि एक सय २० वर्ष भइसकेको छ । उनले हावा खान र सैनिक जमघट गर्न तानसेनमा शीतलपाटी बनाएका थिए ।
खडग शमशेरको पालामा १९९० र १९९५ मा निर्माण गरिएको कुलो पाल्पामा अझै अस्तित्वमा रहेको छ । छेर्लुङ र अर्तुङ्गामा पानी पुर्याउन बनाइएको यो ऐतिहासिक कुलो हेर्न आजभोली पर्यटकहरु पुग्ने गर्दछन ।
तानसेन प्राचीन एवं सुन्दर पहाडी सहर हो । मगर भाषाबाट नामाकरण गरिएको तानसेनको अर्थ उत्तरी बसोबास भन्ने हुन्छ । मगरहरुको बाहुल्य रहेको यो ठाउँमा उनीहरुको आफ्नै भाषा, धर्म, संस्कृति र इतिहास छ । तानसेनमा बसोबास गर्ने पहिलो जाति मगर भएको विश्वास गरिन्छ । करिब ६ सय वर्ष पहिले हालको नेपाल विभिन्न स–साना राज्यमा बाँडिएको थियो । त्यतिबेला यो ठाउँ १२ मगरातका नामले पनि चिनिन्थ्यो । मगरपछि यहाँ नेवार समुदायको बाहुल्य हुन पुग्यो । जुन कारणले तानसेनको रहन सहन र संस्कृति काठमाडौंसँग मिल्दोजुल्दो छ । महाभारत क्षेत्रको दक्षिणी भिरालोमा रहेको तानसेन नेपाली कला तथा संस्कृतिको अनुपम नमुना देख्न सकिन्छ । प्राचीन कलायुक्त नेवारी घर तथा ढुंगा छापिएका बाटोको सुन्दर समिश्रण पाइने तानसेनमा पर्यटकहरुलाई घुमघाम गर्ने धेरै ठाउँ छन । तानसेन पुगेपछि घुम्नैपर्ने ठाउँ श्रीनगर डाँडो हो । डाँडोमा चढेपछि देखिने प्राकृतीक सौन्दर्यले पर्यटकहरु रमाउने गर्दछन । श्रीनगरबाट पश्चिममा धवलागिरि एवं पूर्वमा गणेश हिमालको अवलोकन गर्न सकिन्छ ।
प्रकृतिको सुन्दर उपहार तानसेन वरपरका पर्यटकिय स्थलहरु अवलोकन गर्न कम्तीमा पनि ७ दिनको बसाइ आवश्यक छ । सुन्दर श्रीनगरको डाँडो चढ्ने क्रममा शान्त जंगल, सल्लाका रुख तथा लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिन सकिन्छ । डाँडोको गन्तव्य श्रीनगर पार्क हो । पार्कको पूर्व दिशातिर अघि बढदा आधा घण्टामा बौद्ध स्तूप पुग्न सकिन्छ । थाई भिक्षुको सहयोगमा बनेको यो स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन । यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ । प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेको जनविश्वास यहाँका चित्रबाट झल्कन्छ ।
ढाकाटोपी र करुवाले चिनिएको पाल्पा तानसेनको श्रीनगर बाहेक थुप्रै पर्यटकीय स्थलहरु छन । तानसेन दरबार, शीतलपाटी, वीरेन्द्र फुलबारी, आनन्दविहार मा पनि पर्यटकहरु पुग्ने गर्दछन । अझ पाल्पा जिल्लामा रहेका सत्यवती, सीताकुण्ड, सुके र नन्दताल पुग्नको लागि तानसेन पुगेका पर्यटकहरुले आफ्ना बसाइ लम्ब्याउने गर्दछन । पाल्पा पुग्ने पर्यटकहरु तानसेन, रिडी, रानीघाट, राम्दीघाट, नुवाकोट गढी र रिब्दीकोट घुमेर आनन्द लिने गर्छन् । पाल्पा नेपालकै उत्तम जिल्ला मानिन्छ । प्राकृतीक वातावरण तरेली परेका चुरे र महाभारत श्रृखंलाका डाडाकाडा नदी र खोला किनारका माडी, रामपुर, हुगी, अर्गेली, कचन, दर्पूक, सर्देवा र पूर्वीखोला जस्ता खेतीयोग्य उर्वरा फाटहरु पनि पाल्पा जिल्लाको सेरोफेरोमा रहेको छ ।






