काठमाडौं १९ जनवरी २०२५ । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी ‘प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् ।
शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने नेपाल सरकारले बुधबार प्रजातन्त्र दिवसको अवसरमा घोषणा गर्दा मानवसेवातर्फ अधिकारी परेका हुन् । उनले ५ लाख पुरस्कार राशि पाउनेछन् ।
सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा घोषणा गरिएको पुरस्कारअनुसार टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) छन् ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुने भएका हुन् । पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।






