एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

SHARE:


काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।

पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् ।

महासचिव पोखरेलले भने, “हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्को संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।”

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा मंगलबार बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिएका छन् ।

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो । यसबीच दुई दलका शीर्ष नेताको बैठक नहुँदा उक्त मिति पर सर्र्ने आशंका देखिएका बेला आजको बैठकमा मिति तय गर्न पनि दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०/५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको हो भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यसरी छलफल नभएको जिकिर गर्दै भने, “पार्टी एकता हुने भइसकेपछि त्यस्तो विषय विवाद हुँदैन, व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ, हामीले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक एवं राष्ट्रियसभा निर्वाचनको तालमेलका लागि पृथक् पृथक् ढाँचामा उम्मेदवारी तय गरेको अभ्यास हामीसँग छ ।”

महासचिव पोखरेलले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनाका साथ अघि बढ्ने पनि स्पष्ट गरे ।

प्रकाशित : २०७५ वैशाख ४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!