सन्जय सिंजली मगर
नेपालको बहुसांस्कृतिक र बहुभाषिक समाजमा मगर समुदायले पुरानो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक योगदान दिँदै आएको छ। भाषा, पहिरन, नाचगान, खानपान, लोककथा, किंवदन्ती र ऐतिहासिक घटनाहरूको गर्भमा रहेको मगर जातिको सांस्कृतिक सम्पदा अझैसम्म चलचित्रको माध्यमबाट सम्यक् रूपमा प्रस्तुत भएको छैन। अहिलेको डिजिटल युगमा जब चलचित्र मात्र मनोरञ्जनको साधन होइन, सांस्कृतिक पहिचान र इतिहासको दस्तावेजिकरण गर्ने सशक्त माध्यम बन्दै गएको छ, तब स्वाभाविक रूपमा प्रश्न उठ्छ मगर चलचित्र कस्तो हुनुपर्छ?
मगर चलचित्रले पहिलोपटक मगरको मौलिकता बोकेको जीवनशैलीलाई केन्द्रमा राख्नुपर्छ। तर यो मौलिकता सतही किसिमको लुगा, नाचगान र बोलचालमा मात्र सीमित हुनु हुँदैन। कथाको गहिराइ, पात्रहरूको व्यवहार, गाउँ सहरबीचको द्वन्द्व, पहिचान संकट, युवाहरूको भविष्यप्रतिको संघर्ष, र ऐतिहासिक पृष्ठभूमिमा रहेको जातीय राजनीति पनि कथानकको भाग हुनुपर्छ। चलचित्रले मगरहरूका भोगाइलाई उनकै दृष्टिकोणबाट देखाउनुपर्छ अर्थात् बाह्य ‘गैर–मगर’ नजरले होइन, भित्रैबाट उब्जिएको चेतनाले।
मगर चलचित्रको भाषा पनि अत्यन्त महत्त्वपूर्ण पक्ष हो। मगर समुदायभित्र थुप्रै उपभाषा छन् मगर भाषाका मगर ढुट, खाम र काईके छन्। चलचित्रले यी भाषिक विविधतालाई समेट्दै, उनीहरूको संरक्षण र प्रवर्द्धन गर्ने माध्यम बन्नुपर्छ। फिल्ममा मगर भाषा प्रयोग गर्नु केवल ‘अनुवाद’को कुरा होइन; यो आत्मसम्मान, आत्मपहिचान र भाषिक अधिकारसँग जोडिएको कुरा हो। भाषाविहीन चलचित्र संस्कृति विहीन शरीरजस्तै हो। त्यसैले ‘सबटाइटल’ राखेर भए पनि मूल संवाद मगर भाषामै हुनुपर्छ।
यस्तै, ऐतिहासिक पाटोलाई बिर्सनु हुँदैन। कतिपय ऐतिहासिक घटना जस्तै, १९०३ सालको कोत संहार, मगर जनजातिको सैन्य परम्परा, राणा शासनको समयको उत्पीडन, जनयुद्धकालीन सहभागिता आदि मगर समुदायको इतिहासका अविभाज्य अंश हुन्। यी घटनालाई फिल्मको विषयवस्तु बनाउन सकिन्छ, जसले इतिहासलाई बाँच्ने बनाउँछ। उदाहरणको लागि, एउटा चलचित्र १९०३ सालको कोत संहारपछि मगरहरू कसरी राजनैतिक रूपमा पन्छाइए भन्ने विषयमा केन्द्रित हुन सक्छ। यस्तो चलचित्रले केवल मनोरञ्जन मात्र होइन, शिक्षाको काम पनि गर्छ।
फिल्ममा मगर युवाहरूको मनोविज्ञान र समकालीन संघर्षलाई पनि स्थान दिनुपर्छ। आजका युवाहरू सहरतिर पलायन भएका छन्, उनीहरूको भाषा बिर्सिँदैछ, जरा छुट्दैछ। चलचित्रले उनीहरूको द्विविधा साँस्कृतिक पहिचान जोगाउने कि समायोजन हुने ? यथार्थपरक रूपमा चित्रण गर्नुपर्छ। साथै, महिलाको भूमिकालाई पनि मजबुत बनाउँदै लैजानुपर्छ। मगर महिलाहरूको आवाज, संघर्ष र स्वाभिमान चलचित्रमा उजागर हुनुपर्छ। उनीहरू केवल सहयोगी पात्र होइनन् कहिलेकाहीं कथाको केन्द्रीय स्तम्भ पनि हुन सक्छन्।
पर्दामा देखिने मगर पहिरन, भेषभूषा, र खानपानमा पनि अनुसन्धानको आधार हुनुपर्छ। चलचित्रले पहिचानको विषय बोक्ने भएपछिको जिम्मेवारी अझ बढ्छ। लुगाफाटो मात्र होइन, जीवनशैली, मूल्य मान्यता, जातीय परम्पराहरू पनि गहिरो रूपमा समेटिनुपर्छ। कुनै पात्रको सन्दर्भमा देखिने एकपटकको ‘परम्परागत लोकनृत्य’ले सम्पूर्ण मगरता झल्काउँदैन। त्यसैले, सांस्कृतिक यथार्थलाई सही परिप्रेक्ष्यमा राख्न आवश्यक अनुसन्धान, संवाद र स्थानीय सहभागिता अनिवार्य हुन्छ।
अब कुरो आउँछ प्रस्तुति र प्रविधिको। मगर चलचित्र गुणस्तरीय हुनुपर्छ क्यामेरा, सम्पादन, निर्देशन, र अभिनय सबै पक्षमा। यसका लागि मगर समुदायले फिल्म निर्माणको सम्पूर्ण चक्रमा सशक्त भूमिका खेल्नुपर्छ। चलचित्रको लेखक, निर्देशक, क्यामेराम्यान, संगीतकार, कलाकार सबै क्षेत्रबाट मगर युवाहरू अगाडि आउनुपर्छ। यसरी मात्र हाम्रो कथा हाम्रो आवाजमा प्रस्तुत हुन्छ। समुदायबाटै फिल्म बनाउने संस्कृति ‘कम्युनिटी सिनेमा’ बिस्तार गर्न सकिन्छ।
थप रूपमा, मगर चलचित्रले सीमित मगर दर्शकलाई मात्र लक्षित गर्नु हुँदैन। यसले सबै नेपाली दर्शकलाई मगर संस्कृतिसँग परिचित गराउने पुलको रूपमा काम गर्नुपर्छ। त्यसका लागि कथा सर्वत्र बुझिने, भावनात्मक रूपमा सबैलाई छुने खालको हुनुपर्छ। एउटा राम्रो मगर चलचित्रले मगर मात्र होइन, नेपाली समाजमा पनि व्यापक सन्देश दिन सक्छ संघर्ष, प्रेम, आशा र परिवर्तनको।
अन्त्यमा, मगर चलचित्र केवल चलचित्र होइन यो सांस्कृतिक आन्दोलन हो। यो ‘लाइफस्टाइल’ होइन, ‘लाइफलाइन’ हो। चलचित्रको माध्यमबाट हामी आफ्नो पहिचान जोगाउन सक्छौँ, इतिहासलाई पुनर्जीवित गर्न सक्छौँ, र नयाँ पुस्तालाई जोड्न सक्छौँ। चलचित्रले ‘हामी को हौँ ?’ भन्ने प्रश्नको उत्तर खोज्न सहयोग गर्छ। त्यसैले, आज आवश्यक छ सामुदायिक एकता, सशक्त कथानक, भाषिक चेतना, सांस्कृतिक गर्व, र प्राविधिक दक्षता समेटिएको नयाँ युगको मगर चलचित्र।
नेपाली सिने जगतमा मगर चलचित्र : चुनौती, अवसर र समावेशीताको आवश्यकता
नेपाली सिने जगतमा मगर समुदायको चलचित्र मुख्यतः तीन कारणले चुकिएको देखिन्छ पहिलो, विषयवस्तुको सीमितता र प्रामाणिकताको अभावस दोस्रो, वित्तीय स्रोत तथा पहुँचको न्यूनतास र तेस्रो, मूलधारका सञ्चार माध्यम र बजार व्यवस्थाबाटको बेवास्ता जसका कारण मगर समुदायको चलचित्रले आफ्ना मौलिक कथावस्तु, भाषिक विविधता र सांस्कृतिक सम्पदालाई व्यापक दर्शकसम्म पुर्याउन सकेन र नेपाली सिनेमा उद्योगभित्र आफ्नो विशिष्ट पहिचान बनाउने अवसर गुमायो ।
उदाहरणस्वरूप, अधिकांश मगर भाषामा निर्माण भएका चलचित्रहरू एथ्निक ‘जातीय’ लेबलमा सीमित भइरहे, जसले गर्दा तिनीहरूलाई बहुसांस्कृतिक राष्ट्रिय विमर्शमा समावेश गरिएन, बरु सांस्कृतिक ‘कोटामा’ मात्र बुझियो, जबकि फिल्म निर्माणमा सक्रिय मगर कलाकार र निर्देशकहरू पर्याप्त भए तापनि तिनीहरूलाई आवश्यक प्रोत्साहन, वितरण सञ्जाल र राष्ट्रिय तहको फिल्म फेस्टिभलमा सहभागिता नपाउँदा उनीहरूको सिर्जना सीमित दायरा भित्रै घुमिरह्यो ।
यसरी आफ्नै समुदायभित्र पनि चलचित्रलाई प्रवद्र्धन गर्ने नीति, शिक्षा र दीर्घकालीन लगानीको अभावका कारण नयाँ पुस्ता चलचित्र निर्माणतर्फ आकर्षित हुन सकेन, जसले गर्दा मौलिक कथा, इतिहास र समाजलाई चित्रण गर्ने सामर्थ्य भए तापनि त्यो प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्दा मगर समुदायको सिनेमा गुमनाम बन्न पुग्यो ।
फलस्वरूप नेपाली सिने जगतमा मगर समुदायको चलचित्रले न त व्यावसायिक सफलता पायो न त सांस्कृतिक नेतृत्व नै स्थापित गर्न सक्यो, जसको समाधान भनेको राज्यस्तरमा समावेशी सांस्कृतिक नीतिको विकास, मगर भाषामा बनेका चलचित्रहरूको प्रवद्र्धन, सरकारी तथा गैरसरकारी अनुदानको व्यवस्थापन, र फिल्म अध्ययन तथा प्राविधिक प्रशिक्षणमा मगर युवाको सहभागीता बढाउनु नै हो ।
नेपालको सिनेमा जगतमा मगर चलचित्रको भूमिका र सम्भावना :
नेपालको चलचित्र क्षेत्रमा मगर चलचित्रले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्नुपर्छ किनभने यो चलचित्रले मगर समुदायको सांस्कृतिक पहिचान, भाषिक धरोहर, र सामाजिक अस्तित्वलाई जगेर्ना गर्ने माध्यम बन्न सक्छ । मगर जातिको बहुल बहस र विविध सांस्कृतिक सम्पदाले भरिएको छ, जसलाई नेपाली चलचित्रले उचित रूपमा प्रस्तुत गर्दा न केवल मगर समुदायले आफ्नो पहिचानलाई मजबुती दिन सक्छ, तर समग्र नेपाली समाजमा पनि बहुलता र विविधताप्रति सम्मान र समझदारी बढ्न सक्छ ।
पहिलो त, मगर चलचित्रले मगर समुदायको भाषा र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने महत्वपूर्ण माध्यम बन्नुपर्छ । भाषा र संस्कृतिले मात्र कुनै समुदायको पहिचानलाई बचाउन र प्रवर्द्धन गर्न सकिन्छ । तर नेपालको मुख्यधाराको चलचित्रहरू प्रायः नेपाली भाषा र हिन्दु संस्कृतिमा केन्द्रित हुन्छन्, जसले गर्दा मगर लगायत अन्य थोरै भाषिक र सांस्कृतिक समूहहरूलाई व्यापक रूपमा प्रतिनिधित्व गर्न सक्दैनन् । यहाँ मगर चलचित्रले आफ्नो भाषा, लोकगीत, नृत्य, चाडपर्व, र जीवनशैलीलाई पर्दामा ल्याएर मगर भाषाको अस्तित्वलाई बलियो बनाउनुपर्छ ।
दोस्रो, मगर चलचित्रले सामाजिक सन्देश प्रवाह गर्ने र मगर समुदायको वर्तमान समस्याहरूलाई उजागर गर्ने भूमिका निर्वाह गर्नुपर्छ । नेपालको विकासक्रममा थुप्रै जनजातिहरूले राजनीतिक, सामाजिक र आर्थिक रूपमा पिछडिएका छन्, जसमा मगर समुदाय पनि पर्दछ । मगर चलचित्रले सामाजिक न्याय, समानता, अधिकार र पहिचानको सवाललाई समेटेर समाजमा सचेतना फैलाउन सक्छ । यस्तो चलचित्रले समुदायमा आत्मविश्वास जागृत गर्छ र राष्ट्रिय एकता र सद्भाव बढाउन मद्दत पुर्याउँछ ।
तेस्रो, मगर चलचित्रले नेपाली चलचित्र उद्योगमा विविधता र नवप्रवर्तन ल्याउन सहयोग पुर्याउनुपर्छ । नेपाली चलचित्र उद्योग अहिले सम्म मुख्यधाराको सीमित कथानक र पात्रहरूमै अल्झिएको छ । मगर चलचित्रले आफ्नो सांस्कृतिक र सामाजिक विषयवस्तु लिएर नयाँ कथा, नयाँ दृष्टिकोण, र नयाँ शैलीहरू प्रस्तुत गर्न सक्छ, जसले नेपाली चलचित्रलाई समृद्ध बनाउने छ र अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाई चिनाउन मद्दत गर्ने छ ।
चौथो, मगर चलचित्रले आर्थिक र रोजगार अवसरहरू सिर्जना गर्ने र मगर कलाकार, निर्माता, निर्देशक लगायतका प्रतिभाहरुलाई अगाडि ल्याउने मौका दिनुपर्छ । जब कुनै समुदायको सांस्कृतिक चलचित्र उत्पादन हुन्छ, तब त्यसले त्यो समुदायका युवा प्रतिभाहरूलाई कला, अभिनय, संगीत, निर्देशन लगायतका क्षेत्रमा लाग्न प्रेरणा र अवसर दिन्छ । यसले समुदायको समग्र विकासमा पनि योगदान पुर्याउँछ ।
अन्ततः, मगर चलचित्रले नेपाली राष्ट्रियता र बहुसांस्कृतिकताको सम्मान गर्दै सबै समुदायबीच मेलमिलाप र सहअस्तित्वको सन्देश दिनुपर्छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो, जहाँ हरेक जाति, भाषा र संस्कृतिको सम्मान हुनुपर्छ । मगर चलचित्रले आफ्नो सांस्कृतिक भिन्नतालाई गर्वका साथ प्रस्तुत गरी नेपाली चलचित्रमा सामाजिक समरसता र राष्ट्रिय एकताको भावना बलियो बनाउने एउटा पुलको रूपमा काम गर्नुपर्छ ।
यसैले, मगर चलचित्रले नेपाली सिनेमा जगतमा टिक्न र प्रभावकारी भूमिका निर्वाह गर्नका लागि सांस्कृतिक संरक्षण, सामाजिक सन्देश, नवप्रवर्तन, आर्थिक सशक्तिकरण र राष्ट्रिय समरसताको अभिवृद्धि गर्ने पक्षहरूमा केन्द्रित भएर अघि बढ्न आवश्यक छ । यस्ता चलचित्रले मात्र मगर समुदायको पहिचानलाई बचाउन र नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउन सक्नेछन् ।






