बेलायत – सनिवार ८ नोभेम्बर २०२५ । बेलायतमा ‘मगर्स गट ट्यालेन्ट प्रतियोगिता २०२५ तथा आठौं संस्करण सनिवार ८ नोभेम्बर २०२५ का दिन लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न भएको छ।
यस वर्षको मगर्स गट ट्यालेन्ट प्रतियोगितामा मगर संघ युकेका बिभिन्न शाखाहरुवाट १० वटा समुहले भाग लिएका छन्। जसमध्य मगर संघ युके पलमस्टेड शाखाले प्रथम स्थान ओगट्दै ट्रफी पोल्टामा पारेको छ। प्रतियोगितामा सुश्री एलिशा पुन मगर र सुश्री प्रतिमा पुन मगरले सामुहिक नृत्य प्रस्तुत गरेका थिए।
त्यस्तै दोस्रो स्थानमा मगर संघ युके वेम्ली शाखा (मिफुरुङ) का सुश्री मिमिक पुन मगर आउन सफल भए भने तेस्रो स्थानमा यूएचएसबी शाखा सन्तोष पुन मगर आउन सफल भएका छन्। मिमिकले नृत्य प्रस्तुत गरे भने सन्तोषले गीत गायका छन् ।
मगर्स गट ट्यालेन्ट प्रतियोगिता शुरुहुनु भन्दाको पुर्व संध्यामा गतवर्ष प्रथम, दोस्रो र तेस्रो भएका कलाकारहरुले अतिथि कलाकारको रुपमा आ- आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन्। ट्यालेन्ट प्रस्तुत गर्ने कलाकारहरु प्रथम भएका अंकिता सारु मगर र दोस्रो भएका सिमा रोका मगरले नृत्य प्रस्तुत गरे भने तेस्रो भएका मेगोमी गर्बुजा मगरले लोक पप गीत प्रस्तुत गरेका छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा मनिष श्रेष्ठ, अस्मिता पुरी, नितु र रोशन गुरुङ रहेका छन् । त्यस्तै सोहि कार्यक्रममा निर्णायक मण्डलले पनि अतिथि कलाकारको रुपमा आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन्। रोशन गुरुङ र नितु पुन मगरले गित प्रस्तुत गरेका छन् भने अस्मिता पुरीले नृत्य प्रस्तुत गरेका छन्। मनिष श्रेष्ठले भने कविता र संवाद प्रस्तुत गरे। सोकार्यक्रम चर्चित लोक दोहोरी कलाकार पवन राना मगरले संचालन गरेका छन्।
मगर संघ युके मगर युथका अध्यक्ष दिपक थापा माइथानेको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) थिए भने विशेष अतिथिहरुमा बेलायतका राजा चार्ल्स तृतीयका सुरक्षा निकायका टिम लिडर ले. कर्नेल टोल खाम्चा मगर र मगर महिला संघका अध्यक्ष सरला राना थिए।
मगर युथका सचिब बिपना थापा मगरले औपचारिक कार्यक्रम संचालन गरेका छन् भने अध्यक्षको आसनवाट माइथनेले प्रमुख अतिथि, विशेष अतिथि, प्रायोजक, मगर्स गट ट्यालेन्ट प्रतियोगिता सहभागी भाइ बहिनी, निर्णायक मण्डल, मगर युथहरु र उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका छन्। सो कार्यक्रममा मगर युथका संस्थापक अध्यक्ष दिप राना मगरले पनि आफ्नो कुरा राखेका छन्।
त्यस्तै प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष लालु पुनले मगर्स गट ट्यालेन्ट प्रतियोगिता आयोजन गर्नुको मुख्य उद्धेश्य मगर समुदायको प्रतिभावान युवाहरूमा लुकेका गीत, संगीत, नृत्य र कलालाई दर्शकसामु प्रस्तुत गर्नु र आत्माविश्वास उर्जागर गर्नु हो भनेका छन् ।
उक्त कार्यक्रममा एन आर एन ए युकेका कार्यवाहक अध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल) महासचिब जुरेन्द्र खुजुम, मगर संघ युकेका संथापक, पुर्व र निवर्तमान अध्यक्षहरु, ट्रष्टीहरु, सल्लाहकारहरु, बिभिन्न शाखाका अध्यक्षलगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको छ।







