मगर संघ यूकेको तेस्रो त्रैमासिक बैठक सम्पन्न: ‘मगर दिवस’ र ‘नेपाली ओपन कन्सर्ट’ को तयारी तीव्र

SHARE:

लन्डन, १८ जनवरी २०२६

मगर संघ यूकेको तेस्रो त्रैमासिक (Quarterly) बैठक आइतबार जुममार्फत सफलतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष लालबहादुर पुन मगर (लालु) को अध्यक्षतामा बसेको उक्त बैठकले संस्थाका आगामी महत्त्वपूर्ण योजना र विभिन्न विभागका प्रतिवेदनहरूमाथि घनीभूत छलफल गरेको छ।

प्रतिवेदनहरू सर्वसम्मत पारित: बैठकमा महासचिव, कोषाध्यक्ष, हाउजिङ, सांस्कृतिक, युथ, शाखा तथा मगर महिला संघका साथै अन्तर्राष्ट्रिय मगर महासंघका प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। ती सबै प्रतिवेदनहरूलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ।

मगर दिवस र सांस्कृतिक कार्यक्रमको तयारी: आगामी मगर दिवसलाई भव्य रूपमा मनाउन बैठकमा व्यापक छलफल भएको छ। कार्यक्रमका संयोजक एवं उपाध्यक्ष विष्णु श्रीस र सांस्कृतिक सचिव नुनु पाइजा मगरले यस पटक १८ वटा सांस्कृतिक नृत्य तथा झाँकीहरू प्रस्तुत गरिने जानकारी दिनुभयो। उक्त अवसरमा चर्चित गायिका तथा मोडल निरा थापा मगरको विशेष प्रस्तुति रहने समेत तय भएको छ।

नेपाली ओपन कन्सर्ट: मन्त्र ब्याण्ड आउने: नेपाली ओपन कन्सर्टका प्रमुख संयोजक एवं उपाध्यक्ष गुमानसिंह थापा मगरले आगामी शनिबार, २५ जुलाई २०२६ का दिन रसमोर एरिनामा कन्सर्ट आयोजना हुने जानकारी दिनुभयो। यस पटकको कन्सर्टमा प्रसिद्ध ‘मन्त्र ब्याण्ड’ लाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो।

व्यापक छलफल र निर्णय: बैठकले लखन थापा स्मृति सङ्ग्रहालय, लखन थापा स्मृति गल्फ प्रतियोगिताको वारेमा व्यापक छलफल गर्दै, मगर मास्टर डिग्री तथा पीएचडी ट्रष्ट फन्डका दाताहरूको नामावली ‘होनर बोर्ड’ मा समावेश गर्ने निर्णय समेत गरेको छ।

कार्यतालिका सार्वजनिक र थप निर्णयहरू: बैठकमा मगर संघ यूकेले सन् २०२६ का लागि तय गरिएको वर्षिक कार्यतालिका (Annual Calendar) समेत प्रस्तुत गरेको छ। उक्त कार्यतालिकामा वर्षभरि आयोजना गरिने विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूको विस्तृत खाका समेटिएको छ।

सहभागिता र समापन: उपाध्यक्ष विष्णु श्रीस मगरको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन महासचिव गोमन पुन मगरले गर्नुभएको थियो। बैठकमा संघका पूर्व अध्यक्षहरू, ट्रष्टीहरू, सल्लाहकारहरू, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरू र कार्यसमितिका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

अन्त्यमा, अध्यक्ष लालबहादुर पुन मगर (लालु) ले बैठकमा उठेका विषयहरूमा स्पष्ट पार्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी बैठक समापन गर्नुभएको थियो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!