कांग्रेस उम्मेदवार पार्टीभित्रै पनि चुनाव हार्ने मान्छे हुन्, नुवाकोटमा जित्न सक्दैनन् : तामाङ

SHARE:

काठमाडौं १५ फेब्रुअरी २०२६ । नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार पार्टीभित्रै पनि चुनाव हार्ने मान्छे भएकाले उनले जित्नै नसक्ने दाबी गरेका छन् ।

नुवाकोट-काठमाडौं सम्पर्क मञ्चका बैठकलाई आइतबार सम्बोधन गर्दै पूर्वमन्त्री तामाङले कांग्रेस उम्मेदवार प्रकाशशरण महत जीवनभर नै चुनाव जित्न नसक्ने भएकाले र उनको व्यक्तिगत चरित्र र शैलीका कारण नुवाकोटमा यो चुनाव पनि जित्न नसक्ने बताए । ‘कांग्रेसका उम्मेदवार जीवनमा कुनै चुनाव जित्न सक्ने मान्छे होइन । पार्टीभित्रै चुनाव लड्दा पनि हारेका मान्छे हुन् । व्यक्तिगत रुपमा उहाँसँग मेरो कुनै दुस्मनी छैन । बाटामा भेटेँ भने हात मिलाउँछु । उहाँलाई शुभकमना पनि दिन सकुँला,’ तामाङले भने, ‘उहाँको जनसम्बन्धको हिसाबले । उहाँ व्यक्तिगत शैली, चरित्रको हिसाबले निर्वाचित हुन सक्ने मान्छे नै होइन । सँगै कांग्रेसभित्र अहिले यति ठूलो लडाइँ छ कि मैले यहाँ किन चर्चा गर्नु !’

नुवाकोटमा नेकपा बलियो र विगतको कार्यकालमा गरिएको कामका कारण आफूहरुको जित भइसकेको तामाङको भनाइ थियो । ‘हामीले जितिसकेका छौं । मतदातालाई आकर्षण गराउन भनेको होइन । तपाईंहरुको दिमाग भुट्नका लागि होइन,’ उनले नेता, कार्यकर्तामाझ आधार प्रस्तुत गर्दै भने, ‘नुवाकोट-१ का ७ पलिकामध्ये तीन पालिकामा अध्यक्ष र उपाध्यक्ष जितेका छौं । अझ भनौं ७ उपाध्यक्षमध्ये ५ उपाध्यक्ष हामीले जितेका छौं । ४ अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । ४५ वडामध्ये १९ हामी (नेकपा)ले जित्यौ । कांग्रेसले १८ वटा वडा मात्रै अध्यक्ष जितेको हो । एमालेले त ८ वटा वडा मात्रै जितेको छ । उसले अध्यक्ष र उपाध्यक्ष कतै जितेको छैन । त्यसैले हामी जित्नेछौं ।’

अघिल्ला चुनावहरुमा पनि पार्टी केन्द्रको नीतिअनुरुप गठबन्धन भए पनि आफ्नो दल एक्लै जित्ने अवस्थामा रहेको उनले उल्लेख गरे । ‘गठबन्धन भएर मात्रै हो । त्यो भन्दा राम्रो मत पाएर हामी जित्ने थियौं,’ उनले थपे, ‘०७९ मा कांग्रेसको मत चार भागमा विभाजित भयो । एकथरीले आफ्नो पार्टीका उम्मेदवार नभएपछि भोट हाल्नै गएनन् । एकाथरि हितबहादुरलाई नभएर अर्कै उम्मेदवार जिताउनुपर्छ भनेर एमालेका उम्मेदवारलाई सघाए । एकाथरिले दुवैलाई नदिने भनेर रास्वपालगायत दललाई मत दिए । त्यसैले इमान्दार कांग्रेस मतदाताले मात्रै हामीलाई मत दिए ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!