धादिङ बस दुर्घटनाको छानबिन गर्न नेपाल सरकारले बनायो कार्यदल, बेलायती नागरिकसहित १९ को मृत्यु

SHARE:

काठमाडौँ २३ फेब्रुअरी २०२६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

सोमबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उहाँका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

दुर्घटनामा बेलायती नागरिकको मृत्यु
दुर्घटनामा बेलायती नागरिकको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको ग.२ ख.१४२१ नं.को यात्रुबाहक बस बेनिघाट रोराङ गाउँपालिका ५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा बेलायती नागरिक स्टीवर्ट डोमिनिक इथानको मृत्यु भएको हो । बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

यी हुन् मृतकहरु
१. Stewart Dominic Ethan नाम भएका वर्ष २४ का पुरुष (बेलायती नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं.३० बस्ने वर्ष अं.४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जि. काठमाडौं नागार्जुन नगरपालिका वडा नं.६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं.४ बस्ने अ. वर्ष ४० का ओमकुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णुमाया ढकाल
७. जिल्ला काठमाण्डौं क.म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
११. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० कि अर्चना पौडेल
१२. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १४, चाउथे बस्ने वर्ष २१ कि अञ्जली क्षेत्री
१३. जिल्ला कास्की, माछापुच्छरे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को रोहित नेपाली
१४. जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा. वडा नं. ३२ बुद्धनगर बस्ने वर्ष ३३ कि अनिशा महर्जन
१६. जिल्ला मोरङ, उर्लाबारी १ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी
१७. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को सुजित नेपाली
१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका वर्ष ३२ को मनिष सुक्ला, पुरुष (भारतिय नागरिक)
१९. ZHANG, CHUNCHUN नाम भएकी वर्ष ४० कि महिला (चिनियाँ नागरिक)

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!