लन्डन २७ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन तथा महाधिवेशनको अवसरमा रोजिना प्रधान राईले खुल्लातर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रका साथ स्थापना भएको संघमा राई सन् २००७ देखि विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रहँदै आएकी छन् । ११औँ महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्वाचित भएकी राईले त्यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सदस्यहरूको विश्वास र भरोसाको परिणाम भएको बताएकी छन्।
संस्थाभित्र देखा परेका चुनौतीहरूलाई आत्मसात गर्दै आफू सधैं बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा उभिएको उनको भनाइ छ । महिला उपाध्यक्षको कार्यकालमा उनले लैङ्गिक सीमाभन्दा माथि उठेर सम्पूर्ण गैरआवासीय नेपाली, संस्था र नेपालको हितमा साझा अभियानलाई सुदृढ बनाउन पहल गरेको उल्लेख गरिन्।
राईले संघलाई अझ सशक्त, एकीकृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै विश्वभर छरिएका नेपाली र तिनका सन्तानलाई सम्मानित नेपालीको रूपमा स्थापित गराउने अभियानलाई निरन्तरता दिने अठोट व्यक्त गरिन्। “यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा मात्र नभई संस्थाको दीर्घकालीन हित, एकता र समृद्धिका लागि हो,” उनले भनिन् ।
उनले १२औँ महाधिवेशनमा प्रतिनिधि तथा सदस्यहरूको साथ, विश्वास र सहयोगको अपेक्षा गर्दै यो यात्रा साझा उत्तरदायित्व र सामूहिक प्रयासको प्रतीक भएको बताएकी छन्।






