काठमाडौं १ मार्च २०२६ । प्रदेश अस्पताल (पर्वत अस्पताल) सौन्दर्यकरण परियोजना सम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।
अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना तथा प्रदेश अस्पताल पर्वतको व्यवस्थापनमा सम्पन्न “पर्वत अस्पताल सौन्दर्यकरण परियोजना” हस्तान्तरण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरण गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उनका अनुसार विशेष रूपमा परियोजनाका परिकल्पनाकार एवं अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष शंकर गिरिको अथक् मिहिनेत र नेतृत्वका कारण झन्डै ४२ लाख रुपैयाँ लागतमा अस्पतालको सौन्दर्यकरण गरिएको हो । संस्थापक अध्यक्ष गिरीले अभियान सफल बनाउन लागिपर्ने सबैमा धन्यवाद व्यक्त गरे ।
साथै उक्त कार्यमा सहयोग पुर्याउने सम्पूर्ण संरक्षकहरू, कार्यसमिति सदस्यहरू, प्रतिक्षालय सौजन्यकर्ता बुबाकलाधर गिरि–आमा इन्द्रकुमारी गिरि, नेपाल प्रतिनिधि मुना भुसाल, कलाकार तथा पत्रकार मित्रहरू, अस्पताल विकास समिति, आमा समूह, युवा क्लब, अस्पताल प्रशासन तथा कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गरिएको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्मा गुराँसले पनि सहयोगी र कार्यक्रममा सफलता पुर्याउने सबैलाई धन्यवाद दिए ।’ अत्यन्तै महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष आदरणीय पुरण गिरिज्यू, संस्थापक प्रमुख संरक्षक हित काजी गुरुङज्यू, संरक्षक कुल आचार्यज्यू, संरक्षक कृष्ण तिवारीज्यूलगायत सम्पूर्ण संरक्षकज्यूहरू,सल्लाहकार मनहरि शर्माज्यू, आर्थिक सल्लाहकार शेषराज रेग्मीज्यूलगायत सम्पूर्ण सल्लाहकारज्यूहरु साथै परियोजना नेपाल संयोजक मुना भुसाल, सदस्य सचिव कमल लामिछाने प्रती आभारी छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘
अन्तर्राष्ट्रिय पर्वत समाजका सम्पूर्ण कार्यसमिति सदस्य साथीहरू, परियोजना प्रतिक्षालयका सौजन्यकर्ता आदरणीय बुबा–आमा कलाधर गिरि/इन्द्रकुमारी गिरि, दिदी कुमारी पुन, छोरी सुस्मिता गिरि, साथै कलाकार तथा पत्रकार मित्रहरू, अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रिय भाइ शंकर गिरि, नेपाल प्रतिनिधि प्रिय बहिनी मुना भुसाल, प्रिय भाइहरू कृष्ण अखेली, आर.सी. पौडेललगायत सम्पूर्ण कलाकार दाजुभाइ तथा दिदीबहिनीहरू, अस्पताल विकास समितिका वर्तमान अध्यक्ष शिव परियारज्यू, कार्यक्रमलाई भव्य बनाउन उपस्थित विभिन्न आमा समूह, युवा क्लब तथा सामाजिक संघ–संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
अध्यक्ष शर्माले थपे, ‘झन्डै ४२ लाखको लगानिमा सम्पन्न यस परियोजनामा विशेषरूपमा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रिय भाइ शंकर गिरिको अथक् मिहिनेत, समर्पण र निरन्तर खटाइका कारण आज यो अभियान सफलताको उचाइमा पुग्न सकेको हो । उहाँको सक्रियता र नेतृत्वप्रति म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु,सामाजिक सेवाको यो यात्रामा हामी सबैको साथ, सहयोग र सद्भाव रहिरहने छ । आगामी दिनहरूमा पनि सकारात्मक सोचका साथ समाज सेवाका कार्यहरू अघि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
साथै परियोजना सम्पन्न गर्न बेल्जियम च्यारिटी कार्यक्रम संयोजक प्रमुख संरक्षक झलक केसीज्यूसहित सम्पूर्ण च्यारिटी कार्यक्रम परिवार, सम्पूर्ण कार्यसमितीका साथीहरूलगायत मन खोलेर सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति उनले आभार प्रकट गरेका छन् ।

कार्यक्रममा संस्थापक प्रमुख संरक्षक हित काजी गुरुङ, संरक्षक कुल आचार्य, संरक्षक कृष्ण तिवारीलगायत संरक्षकहरू, सल्लाहकार मनहरी शर्मा, आर्थिक सल्लाहकार शेषराज रेग्मीलगायत सल्लाहकारहरु साथै परियोजना नेपाल संयोजक मुना भुसाल, सदस्य सचिव कमल लामिछानेलगायतको उपस्थिति थियो ।
सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले सरकारबाट ६० शय्या क्षमतामा चलिरहेको अस्पतालको सौन्दर्यकरणका लागि १२ असोज २०८१ मा सम्झौता गरेको थियो । अन्तर्राष्ट्रिय पर्वत समाजका तर्फबाट संस्थापक अध्यक्ष, हालका संरक्षक तथा पर्वत अस्पताल सौन्दर्यकरण परियोजनाका संयोजक पुरन गिरी र पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार अस्पतालमा उपचारको लागि आउने बालबालिकाहरूको लागि बाल उद्यान, बिरामीका कुरुवासहित अन्यका लागि खुल्ला व्यायामशाला, कुरुवाको लागि व्यवस्थित प्रतीक्षालय, प्रार्थनाका लागि भगवान् गौतम बुद्धको मूर्ति स्थापना, स्वस्थ वातावरण र आरामका लागि बगैँचा र चौतारी निर्माण तथा मौलिक परम्पराको संरक्षण र स्वस्थ पानीको आपूर्तिका लागि ढुङ्गेधाराको निर्माणका लागि ३५ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको थियो । तर पछि लागत बढेको बताइएको छ ।
अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष तथा परियोजनाका संयोजक पुरन गिरीले विभिन्न उद्देश्यले विदेशमा रहेका पर्वतेहरूले सानो सानो रकम सङ्कलन गरेर संरचनाहरू निर्माण गरिएको बताए । उनले कोभिड–१९ को बेलामा समेत अस्पतालमा अक्सिजन व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ लगानी गरिएको जानकारी गराए ।
अन्तर्राष्ट्रिय पर्वत समाजले त्यसअघि पनि पर्वतमा धेरै सहयोगहरू गरिसकेको छ । पहिरोका कारण घरबारविहीन बनेको जलजला गाउँपालिकाको लस्तीमा बस्ती निर्माण, जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्रीहरू प्रदान, पैयुँ गाउँपालिकामा शव वाहन र फलेवास नगरपालिकालाई एम्बुलेन्स सहयोग, मोदी गाउँपालिकाको गुरुङ होमस्टे प्रवर्द्धन लगायतका कामहरू गरिसकेको छ ।
विभिन्न सिलसिलामा विदेशमा पुगेका पर्वतेहरूलाई परेका समस्याको समाधान गर्ने तथा मातृ जिल्लाको विकासमा सबै देशमा रहेका पर्वतेहरू एकजुट हुन सक्ने माध्यमको रूपमा करिब एक दशकअघि समाजको स्थापना गरिएको हो । अहिले विश्वका विभिन्न २७ वटा देशमा यसका समितिहरू निर्माण गरेर पर्वतेहरूलाई सहयोगदेखि विकास र समृद्धिका लागि प्रयासहरू भइरहेका छन् ।






