मेनोपोज: जीवनको स्वाभाविक तर संवेदनशील चरण

SHARE:

बिक्रम भट्टराई – बेलायत।

आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाको जीवनको एउटा महत्त्वपूर्ण तर हामी खासगरी धेरैजसो पुरुषहरूले कम बुझेको विषय, मेनोपोज (जीवनको स्वाभाविक तर संवेदनशील चरण) बारे केही कुरा गर्न मन लाग्यो। लामो भए पनि सकेसम्म पढ्नुहोला है।

म सानो हुँदा हाम्रो टोलमा ठूलाबाले कहिलेकाहीँ ठूलीआमाबारे भन्नुहुन्थ्यो, “यतिबेला आइमाई अलि चोथाले हुने उमेर हो बाबु। छिट्टै रिसाउने, सानो कुरालाई पनि ठूलो बनाउने, कहिले बोल्दै नबोल्ने, जाडोमा पनि चिडचिड भएर पसिना आउने, सहज कुरामा पनि ढिपी गर्ने उमेर हो…।” त्यतिबेला हामीलाई लाग्थ्यो सायद ठूलीआमाको स्वभावकै कुरा होला, बुढाले ढाक्छन्। तर अहिले बुझ्दै जाँदा थाहा हुँदैछ, सम्भवतः त्यो मेनोपोजको समय पो रहेछ।

मेनोपोज भनेको के हो त? यसबारे बात मारौँ न आज यो विशेष दिनमा। मेनोपोज (Menopause) भनेको महिलाको जीवनको त्यो चरण हो जब महिनावारी स्थायी रूपमा बन्द हुन्छ र बच्चा जन्माउने (प्रजनन) क्षमता लगभग समाप्त हुन्छ। धेरै नेपालीहरू अझै भनौँ एसियनहरूलाई ठ्याक्कै यसलाई के भन्छन् भन्ने थाहा नहुँदो रहेछ। नेपालीमा यसलाई सामान्यतया “रजोनिवृत्ति” वा “रजोनिवृत्ति अवस्था” भनिँदो रहेछ। महिलाको जीवनमा सामान्यतया यो ४५ देखि ५५ वर्षको उमेरको बीचमा सुरु हुँदो रहेछ। म जस्तै धेरैलाई यो समस्या महिलालाई मात्र हुन्छ भन्ने लाग्दो रहेछ। हुन पनि हो, यो पूर्ण रूपमा महिलामा मात्र हुन्छ, किनकि यो महिनावारीसँग सम्बन्धित प्रक्रिया हो। तर पुरुषहरूमा पनि उमेरसँगै हर्मोन (टेस्टोस्टेरोन) घट्ने अवस्था आउँछ, जसलाई कहिलेकाहीँ एन्ड्रोजपज (Andropause) भनिने रहेछ र यसका कारण पुरुषमा पनि विभिन्न लक्षणहरू देखिने र खासगरी यौनइच्छा कम हुँदो रहेछ।

मेनोपोजले स्वयं महिला र त्यो पूरै परिवारलाई शारीरिक रूपमा मात्र होइन, भावनात्मक र मानसिक रूपमा पनि प्रभाव पार्छ। जस्तै: छिटो रिस उठ्ने वा चिडचिडापनका कारण घरमा झगडा हुने, सानो कुरामा धेरै संवेदनशील भएर सोच्दा लिनै पर्ने निर्णय पनि लिन नसकिने, कहिले धेरै बोल्ने, कहिले बिल्कुल चुप लाग्ने भइदिनाले खासमा मनमा के छ भन्ने बुझ्न नसकेर गलत निर्णय लिने सम्भावना प्रबल रहने हुन्छ। स्वयं महिलालाई निद्रा नलागेपछि त्यसबाट हुने मानसिक र शारीरिक समस्याहरूको त कुरै नगरौँ, परिवारका सदस्यहरू समेत यसको चपेटामा पर्दा रहेछन्। अनि सधैँ लखतरान परेको जस्तो हुनु, चिन्तित देखिनु, उदासी मन पराउनु लगायतका कुराले पारिवारिक माहोल नै चिन्ताजनक बनाउने रहेछ। अझ शरीरमा अचानक तातो महसुस हुने (Hot flush) त सामान्य नै रहेछ। त्यसैले पहिलेका पुस्ताले “चोथाले हुने उमेर” भनेर अनुभवबाट भनेका कुरा वास्तवमा हर्मोन परिवर्तनको असरबारे नबुझेर भनेका होलान्।

एउटी महिलाको जीवनमा मेनोपोज एकै दिनमा हुने घटना भने होइन। सामान्यतया यो सुरु हुने चरणमा केही वर्ष लाग्न सक्छ। अनि ठ्याक्कै महिनावारी बन्द भएको समय (Menopause) केही वर्ष नै हुन सक्छ। यसको प्रभाव र परिवर्तनको प्रक्रिया ४ देखि १० वर्षसम्म पनि रहन सक्छ। कतिपयलाई त सुरु भएपछि सधैँ रहन्छ पनि भन्दा रहेछन्।

खासमा मेनोपोज रोग होइन, महिलाहरूको जीवनको स्वाभाविक चरण हो। यो कसैले महसुस नै नगरेका पनि हुन सक्छन् भने कतिलाई यो समस्याले जीवन नै समाप्त गरेका लाखौँ घटनाहरू पनि रहेछन्। तर यसलाई कम गर्नका लागि मुख्य र महत्त्वपूर्ण कुरा त मानसिक रूपमा मजबुत बनाउन श्रीमान् वा घरपरिवारका अन्य सदस्यहरूले सहयोग गर्नुपर्छ। सकारात्मक वातावरण बनाउन ध्यान दिने, अनावश्यक बहसबाजी नगर्ने, सानातिना कुराहरूलाई नजरअन्दाज गर्ने, सकेसम्म उहाँहरूका कुरा सुन्ने र बुझ्ने प्रयास गर्ने गर्नुपर्छ। घरका दैनिक कामकाजहरूमा सहयोग गर्ने, पकाउने, भाँडा माझ्ने या खाना पस्केर मात्रै दिए पनि वातावरण सकारात्मक बन्छ। सकेसम्म घरको व्यावहारिक कुरामा दबाब (प्रेसर) नदिने, स्वस्थ खानेकुरा खाने अथवा खाने वातावरण बनाउने, सकिन्छ भने नियमित योग, ध्यान, प्राणायाम अनि शारीरिक व्यायाम गर्ने, सुत्ने र आराम गर्ने कुरामा एकदम ख्याल गर्नुपर्छ। “यो त बिग्रिन लागी” भनेर जथाभावी कमेन्ट नगर्ने, मानसिक रोगीको भाव आउने कुनै पनि हरकत गर्दै नगर्ने। यसले धेरै नै दुःख दिएको अवस्थामा डाक्टरको सल्लाहमा हर्मोन थेरापी (Hormone Therapy) पनि गर्न सकिने रहेछ। यी उपायहरूले धेरै सहयोग पुर्‍याउन सक्दा रहेछन्। किनकि यो समय महिलाका लागि शारीरिक मात्र होइन, भावनात्मक रूपमा पनि अत्यन्तै संवेदनशील समय हुँदो रहेछ। यस्ता साना-साना व्यवहारहरूले महिलालाई ठूलो राहत दिन्छन्। हामीले कहिलेकाहीँ नबुझेर स्वभावको दोष ठान्ने कुरा वास्तवमा शरीरको प्राकृतिक परिवर्तनले पो हुने रहेछ।

आज अन्तर्राष्ट्रिय नारी दिवसमा भाषणबाजी गरेर होइन कि माथिका कुराहरूलाई एकदमै मनन गरेर तपाईँ-हाम्रो घरका आमा, श्रीमती, दिदीबहिनी र सबै महिलाहरूप्रति सम्मान, समझदारी र सहानुभूति व्यक्त गरौँ। किनकि उहाँहरूलाई बुझ्नु नै नारी सम्मानको पहिलो कदम हो भन्दै सम्पूर्ण देवीरूपी महिलाहरूमा नारी दिवसको हार्दिक शुभकामना! सबैको जय होस्!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!