काठमाडौं ९ मार्च २०२६ । नेपालमा फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुरुङ समुदायबाट तीन जना निर्वाचित भएका छन् ।
मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र कास्की निर्वाचन क्षेत्र नं ३ बाट बिना गुरुङ निर्वाचित भएकी हुन् । टेकबहादुर गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।
बिनाले भने प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्न सफल भइन् । बिनाले ३७ हजार ७५० मतसहित विजयी भएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए ।
सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको संस्थापक अध्यक्षसमेत रहेकी गुरुङ महिला दिदीबहिनीहरूको प्रेरणा स्रोत बन्दै आए। महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोड दिए ।
यसैबीच नेपालमा जेन-जी आन्दोलनमा चर्चित अनुहार सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । रास्वपाबाट उम्मेदवार रहेका सुधन सोमबार दिउँसो सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार फराकिलो मतान्तरसहित विजयी बनेका हुन् । सुधनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ । सुधन गोरखाको चुमनुम्रीमा जन्मिएका हुन् ।






