काठमाडौं । परराष्ट्र मन्त्रालयको आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा बैठकमा विस्तृत छलफल गरिएको हो । बैठकमा परराष्ट्रमन्त्री बलानन्द शर्मा, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, नेता महेश कुमार श्रेष्ठ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा आगामी १२औँ महाधिवेशन तथा एनआरएनए ग्लोबल सम्मेलनको तयारी, आवश्यक समन्वय तथा बाँकी प्रक्रियाहरू टुंग्याउने विषयमा छलफल भएको थियो। सम्मेलनलाई सफल बनाउन उच्चस्तरीय समन्वयलाई थप प्रभावकारी बनाउने सहमति समेत भएको बताइएको छ । सम्मेलनमा विश्वभरबाट करिब ४ हजार प्रतिनिधि (डेलिगेट) सहभागी हुने अपेक्षा गरिएको छ ।
बैठकमा परराष्ट्रमन्त्री बलानन्द शर्माले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनलाई लिएर विश्वास र सकारात्मक सन्देश दिएका छन् । मन्त्री शर्माले भने, ‘एनआरएनमा केही कमी देखिए पनि, नेतृत्वमा देखिएका चुनौतीहरू सम्मेलनमार्फत समाधान हुने विश्वास छ ।’ उनले देश अहिले आकांक्षामय अवस्थामा रहेको र एनआरएनले देखाएको सक्रिय सहभागिताले समस्या पहिचान गरेर अगाडि बढ्न मद्दत गर्ने बताए l
मन्त्री शर्माले नेपालमा नीतिगत रूपमा सबै संघ–संस्था बीच समन्वय आवश्यक रहेको र आगामी सरकारले नेपाली नागरिकले दिएको म्यान्डेट पूरा गर्ने अपेक्षा राखेको उल्लेख गरे । यस सन्दर्भमा कुन क्षेत्रमा के गर्नुपर्ने भन्ने स्पष्टता एनआरएनएमा पनि हुनुपर्नेमा उनले जोड ए ।
बैठकमा अनलाइन भोटिङको नमुना प्रणाली तयार गर्न र सरकारले त्यसलाई अवलम्बन गर्नुपर्ने उल्लेख पनि गरे । साथै, एनआरएनको विश्वव्यापी नेटवर्क फैलावट र प्रभावकारिताको प्रशंसा गर्दै सांस्कृतिक संरक्षण र बलियो बनाउने आवश्यकता औंल्याए ।
यस्तै विदेशमा रहेका नेपालीहरूको अनुभव र तथ्यांक संकलन गरेर ठोस आधार तयार पार्नुपर्नेमा जोड दिए । यसले आगामी सम्मेलनमा निर्णय र नीति निर्माणलाई व्यावहारिक, प्रभावकारी र दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मन्त्री शर्माले सम्मेलन सफल बनाउन एनआरएनसँग सहयोग जारी रहने र आगामी दिनमा नेपाल–एनआरएन सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनको सफलताको कामना व्यक्त गरे ।
त्यसअघि बैठकलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले १२औँ महाधिवेशनको तयारीबारे जानकारी गराए । उनले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए । साथै “हाम्रो एकता नै समृद्धिको आधार” भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिने बताउँदै पछिल्लो युवा पुस्ताको आन्दोलनपछि एकताको आवश्यकता अझ गहिरो रूपमा महसुस भएको उल्लेख गरे ।
अध्यक्ष केसीले “एक पटकको नेपाली, सधैंको नेपाली नागरिक” भन्ने अवधारणाको पक्षमा आफूहरूले निरन्तर वकालत गर्दै आएको पनि बताए । १२औँ महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तय भएको छ भने उद्घाटनकै दिन वैदेशिक रोजगार, युवा, महिला, संस्कृति तथा रूपान्तरणलगायत विषयमा चार वटा सत्रमा छलफल हुनेछ । सम्मेलनको समापन प्रधानमन्त्रीबाट हुने जानकारी पनि उनले दिए ।
यसैगरी बैठकमा बोल्दै एनआरएनएका अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले विगतमा देखिएका केही असमझदारीका कारण संगठनको मूल उद्देश्य कमजोर भएको भए पनि अहिले परराष्ट्र मन्त्रालयले एनआरएनप्रति देखाएको विश्वासका लागि धन्यवाद व्यक्त गरे । उनले विदेशमा बसोबास गर्ने नेपालीहरूसँग वार्षिक करिब २० खर्ब रुपैयाँ बराबरको पूँजी रहेको उल्लेख गर्दै उपयुक्त कानुनी व्यवस्था र लगानीमैत्री वातावरण बनेमा उक्त पूँजी नेपालमा भित्र्याउन सकिने बताए । “विदेशमा सफल भएका धेरै नेपाली छन्, उनीहरूको अनुभव र विशेषज्ञता नेपालले उपयोग गर्न सक्छ,” उनले भने । श्रेष्ठका अनुसार यदि नियमित रूपमा लगानी गर्ने वातावरण सिर्जना गर्न सकिएमा वार्षिक २ खर्बभन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिने सम्भावना रहेको छ । यस सम्मेलनले नेपालमा वैदेशिक तथा गैरआवासीय नेपाली लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।
बैठकमा सहभागीहरूले गैरआवासीय नेपालीहरूको एकता र सहकार्य नेपालको आर्थिक, सामाजिक तथा विकासको यात्रामा महत्वपूर्ण हुने भन्दै आगामी एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनलाई सफल बनाउन सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रोफेसर डा. सुनिति श्रेष्ठ हाडाले गैरआवासीय नेपालीहरूको अनुभव र विशेषज्ञता नेपालका विभिन्न विकासका क्षेत्रमा उपयोगी हुने बताए । उनले विशेषगरी लगानी, विज्ञान तथा प्रविधिजस्ता क्षेत्रहरूमा एनआरएनए सदस्यहरूको अनुभव र दक्षता प्रभावकारी रूपमा प्रयोग गर्न सकिने धारणा व्यक्त गरे ।
डा. हाडाले विदेशमा सफल भएका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालमा भित्र्याउन सके देशको विकास प्रक्रियामा महत्वपूर्ण योगदान पुग्ने बताउँदै यसका लागि उपयुक्त नीति तथा सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव परश्वार ढुङ्गानाले आगामी महाधिवेशनमा प्रयोग गरिने अनलाइन भोटिङ प्रणाली सफलतापूर्वक सञ्चालन होस् भन्ने शुभकामना व्यक्त गरे । उनले यस प्रक्रियाबाट आफूहरूले पनि धेरै कुरा सिक्ने अपेक्षा रहेको बताए । उनका अनुसार सम्मेलनका विभिन्न सेसनहरूबाट निस्किने निष्कर्षहरू घोषणापत्र (डिक्लेरेसन) मा समेटिनु उपयुक्त हुने विश्वास व्यक्त गरे ।






