घलेभन्ज्याङ (नुवाकोट)। नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय २०६० सालका एसएलसी ब्याजीको शनिबार पुनर्मिलन कार्यक्रम हुँदै छ ।
एसएलसीपछिको झन्डै २२ वर्षको अन्तरालमा उक्त ब्याजीका केही विद्यार्थीहरुको सक्रियतामा २०८२ फागुन ३० गते शनिबार भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रम काठमाडौं टोखा नगरपालिकास्थित टोखा भ्यूउ रिसोर्टमा हुने छ। समय बिहान साढे ९ बजे तय गरिएको छ ।
लामो समयपछिको सम्बन्ध नवीकरण, रमाइलो र सामूहिक उद्देश्य निर्माणका लागि भेटघाट आयोजना गर्न लागिएको लोक तथा दोहोरी गायकसमेत रहेका संयोजक रामकुमार खतिवडाले जानकारी दिए ।
‘कार्यक्रम मुख्यत: भेटघाट नै हो । गफगाफ गरौं, बसौ फोटो खिचम् । यही हो, विशेष कार्यक्रम रमाइलो,’ खतिवडाले भने ।
कार्यक्रम सफल गराउन ब्याजीहरु रामकुमार खतिवडा, दिपक तामाङ, शिक्षकसमेत रहेका प्रल्हाद सिटौलालगायत सक्रिय छन् । यो पहिलो भेटमा ५० भन्दा बढी सहभागी गराउने लक्ष्य लिइएको छ ।
यसपटक नुवाकोट, काठमाडौं, पोखरा र विदेशमा पुगेकाहरु समेत सहभागी हुने आयोजकले जनाएका छन् । सकेसम्म सबै साथीहरु उपस्थित भई भेलालाई अर्थपूर्ण र ऐतिहासिक बनाउन समेत अनुरोध गरिएको छ । भेलामा उपस्थिति र थप जानकारीका लागि ९८४९०८१३१० मा सम्पर्क गर्न भनिएको छ ।






