लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमा चयन गर्ने निर्णय भएको छ ।
अध्यक्षका प्रत्याशी रोविन शेरचनले अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । संस्थाको एकताका लागि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
एनआरएनए हालै एकीकृत भएको र शनिबारदेखि १२औँ महाधिवेशन सुरु हुने तयारीका बीच सहमतिको वातावरण बनेपछि निर्वाचन कार्यतालिका पनि परिवर्तन गरिएको अभियन्ता सोम सापकोटाले जानकारी दिए ।
एनआरएनएको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । यूकेबाट डा. शर्मा, जापानबाट शेरचन र अमेरिकाबाट रविन बज्राचार्यले उम्मेदवारी दिएका हुन् ।
महाधिवेशनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बद्री केसीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप तीन जना अध्यक्षका प्रत्यासीबीच समझदारी बनिसकेको बताए । उनले महासचिव पदमा पनि चुनाव नगरी सहमतिमै चयन गर्ने तयारी रहेको बताए ।
एनआरएनए महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।






