पोखरा । तमु धिं नेपालले कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बिना गुरुङसम्बन्धी सामाजिक सञ्जालमा भइरहेको आलोचना र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष हुमबहादुर गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको कार्यक्रममा गुरुङ बाहिरिने क्रममा स्वयंसेवकहरूले बनाएको सुरक्षा घेरासम्बन्धी भिडियो सार्वजनिक भएपछि राजीनामा माग र गालीगलौजसम्मका प्रतिक्रिया आउनु दुःखद् भएको उल्लेख गरिएको छ ।
तमु धिं नेपालले उक्त सुरक्षा घेरा गुरुङले मागेको नभई स्वयंसेवकहरूको जिम्मेवारीका कारण भएको हुन सक्ने बताउँदै यसबारे सम्बन्धित पक्षबाट स्पष्टता आवश्यक रहेको जनाएको छ । साथै संस्थाले सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी गुरुङलाई निरुत्साहित गर्ने गतिविधि नगर्न आग्रह गर्दै उनले जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।







