काठमाडौँ । नेपालका विभिन्न ठाउँमा शुक्रबार हुरीसहित असिना पानी परेको छ । दिउँसै अन्धकार भएपछि आन्तरिक र बाह्य केही उडान प्रभावित भएका छन् । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् ।
विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, विशेषगरी काठमाडौं आउने रुटमा जोखिमपूर्ण बादल प्रणाली सक्रिय भएपछि धेरै विमान गन्तव्यमा अवतरण नगरी फर्काइएका वा डाइभर्ट गरिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिए । हावाहुरी र असिना पानी परेको समयमा सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उनले आग्रह गरे ।
विभागका अनुसार आज अपराह्नपछि नै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभाव; केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङ्गको प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षा हुने सम्भावना छ ।






