अत्तरिया । कैलालीको गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरका सुरेन्द्र पुनले बङ्गुरपालन गरिरहनुभएको छ । पाँच वर्षअघि उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा जाने योजना छाडेर स्वदेशमै बङ्गुरपालन सुरु गर्नुभएका पुनले विदेश नगएकामा पछुताउनुपरेको छैन, बरु राम्रो आम्दानीसँगै खुसी मिलिरहेको छ । उहाँले हाल स्वदेशमै वार्षिक रु १५ लाखसम्म कारोबार गर्ने गरेको बताउनुभयो ।
“नेपालमा रोजगारीको अवसर नपाएपछि पाँच वर्षअघि विदेश जाने तयारी गरेको थिएँ, तर एकपटक देशमै केही गरेर हेरौँ न भन्ने सोच आयो, त्यसपछि करिब रु सात लाखको लागतमा व्यावसायिक बङ्गुरपालनमा लागेको हुँ”, पुनले भन्नुभयो, “हाल विदेश नगएकामा कुनै पछुतो छैन । सोचेअनुसार नै आम्दानी भइरहेको छ । ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु १५ लाख कारोबार गरिरहेको छु ।”
उहाँले हाल देशमै काम गर्दा विदेश गएका साथीहरूका भन्दा पनि राम्रो कमाइ भइरहेको सुनाउनुभयो । “विदेश गएका साथीहरूसँग पनि कुराकानी हुन्छ । हाम्रो सीप र क्षमताअनुसार त्यहाँ पनि राम्रो काम पाइने होइन”, पुनले सुनाउनुभयो, “सुरुमा केही समस्या हुन्छ कि भनेर चिन्ता लागेको थियो, तर विस्तारै राम्रो हुँदै गयो । हाल बङ्गुरको दानालगायतको सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत हुन्छ । परिवारसँगै बसेर आम्दानी पनि खुसी पनि मिलिरहेको छ, जुन कुरा विदेश गएको भए पाइन्थेन होला ।”
उहाँका अनुसार वर्षमा तीन सय जति पाठापाठी बिक्री भइरहेका छन् । रु पाँच हजारका दरले पाठापाठी बिक्री हुने गरेका छन् । ठूला बङ्गुर मासुका लागि प्रतिकिलो रु तीन सय २० मा बिक्री हुने गरेका छन् । पुनले भन्नुभयो, “बजारको समस्या छैन । खोरबाटै ठूला बङ्गुर र पाठापाठी बिक्री हुन्छन् । पाठापाठीको माग धेरै छ । माग धान्न सकिरहेको छैन । हाल पाठापाठी बिक्री गरेर सकेको छु, अब खोरमा बच्चा पाउने आठवटा माउ बङ्गुर छन् ।”
पुनले उन्नत जातका बङ्गुरपालन गर्दै आउनुभएको छ । हाल उहाँको खोरमा डिउरो, हेमसार, ल्याण्ड्रेस र स्क्वायर जातका बङ्गुरपालन छन् । मेहनत गर्न सके आफ्नै देशमा राम्रै आम्दानी गर्न सकिने भन्दै पुन अन्य साथीलाई पनि काम गर्न उत्प्रेरित गरिरहनुभएको छ । उहाँले आफूकहाँ आउनेलाई धेरै युवाहरूलाई देशमै केही गर्न सकिन्छ भनेर सम्झाउने गरेको र कतिपयले व्यवसाय पनि सुरु गरिसकेको बताउनुभयो ।
“कुनै पनि काम सजिलो त हुँदैन, तर हात हाल्यो भने दत्तचित्त भएर काम गर्दा पछुताउनु पर्दैन, त्यसको उदाहरण म आफैँ हो । हामीजस्ता उद्यमीलाई सरकारले पनि पनि अनुदान दिए व्यवसाय विस्तार गरी रोजगारीसमेत सृजना गर्न सकिन्छ । यसमा स्थानीय तहले पनि ध्यान दिनुपर्छ”, पुन भन्नुहुन्छ ।






