काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) महावीर पुनले नेपाली जनताको सेवा गर्ने औपचारिक जागिर खान सुरु गरेको बताएका छन् ।
सिंहदरबारमा बिहीबार पद तथा गोपनियताको शपथ लिएपछि फेसबुकमार्फत ‘शपथ पत्र’ सार्वजनिक गर्दै पुनले उक्त प्रतिक्रिया जनाएका हुन् । ‘लौ दाजुभाइ दिदीबहिनीहरु, आज मिति २०८२ साल चैत महिना १२ गतेको दिउँसो २:१५ बजेदेखि ५ वर्षको लागि पूरा सांसद भईयो र नेपाली जनताको सेवा गर्ने औपचारिक जागिर खान सुरु गरियो । जनताको सेवा गर्ने अनौपचारिक जागिर खान थालेको त ३३ वर्ष भयो,’ उनले लेखेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्षसमेत रहेका पुन फागुन २१ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट निर्वाचित भएका हुन् । उनी २२ हजार ८५० मतका साथ विजयी बनेका थिए ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका उनी शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनाव लडेका थिए ।






