लन्डन,ग्रेज ४ अप्रिल २०२६ । बेलायतमा सेवारो कलाकार संघ यूकेले विभिन्न कार्यक्रम गरी याक्वा तङ्नाम मनाएको छ ।
रिचमन्ड रोडस्थित टीएनजीसी हल ग्रेजमा शनिबार अध्यक्ष इन्दु पङ्धाक लिम्बुको अध्यक्षतामा विशेष कार्यक्रम गरी याक्वा तङ्नाम मनाइएको हो । कार्यक्रमको आरम्भमा फेदाङ्मा पदम सम्बाहाङेद्वारा विधिवत रुपमा (याक्वा माङ्सोपा पूजा) भूमि पूजा आरधनापछि संघकी अध्यक्ष इन्दु पङ्धाक लिम्बु र प्रमुख अथिति पदम सम्बाहाङ्फेले संयुक्त रुपमा दिप प्रज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा अतिथि गणेश इजम, सल्लाहकार काजीमान याक्सोलगायत उपस्थित सबै अथितिहरुले तङ्नामको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष बिमला सेनेले स्वागत मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रम महासचिव माक्सती ओख्राबुले सञ्चालन गरेका थिए । त्यसैगरी उपाध्यक्ष जय मादेम्बाले याक्वा तङ्नामबारे प्रस्ट्याएका थिए ।
अध्यक्ष लिम्बुले कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट प्रत्यक्ष-अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, बौद्धिक रुपमा सहयोग गर्ने कार्यसमिति सल्लाहकार, उपस्थित अतिथिहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरे ।
कार्यक्रममा अथितिहरु याक्थुङ कल्चरल एन्ड हेरिटेज यूकेका संयोजक गणेश इजम, नागरिक समाज यूकेका सचिव ज्ञानु फुरुम्बो, किरात याक्थुङ चुम्लुङ ग्रेटर लन्डन शाखा अध्यक्ष डम्बर लिवाङ, किरात याक्थुङ चुम्लुङ ग्रेज शाखा अध्यक्ष लक्ष्मी लिवाङ, किरात राई यायोक्खा ग्रेज शाखा सल्लाहकार मान राई, TNGC अध्यक्ष किशोर अन्छङ्बो, किरात याक्थुङ चुम्लुङ थामेन्दिङमा अध्यक्ष मनमाया नेम्वाङ, सल्लाहकाहरु युवराज इस्बो, काजीमान याक्सोलगायत बेलायतवासी लिम्बुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दोस्रो चरणको कार्यक्रममा सेवारो कलाकार संघ यूकेका स्थानीय कलाकारहरु महासचिव माक्सती ओख्राबु, सहसचिव राजन नेम्वाङले सामूहिक रुपमा नेपाली गीत, लिम्बु गीत गाएर भरपुर मनोरन्जन गराएका थिए भने संस्थापक अध्यक्ष काजीमान याक्सोको नेतृत्वमा भक्ति आङ्देम्बे, जय मादेम्बा, राजन नेम्वाङ, डा . किसन याक्सोलगायत सांस्कृतिक विभाग प्रमुख, दिलु पङ्धाक मादेनको समूहले केलाङ प्रस्तुत गरेका थिए । अन्य लिम्बु नाच, हाक्पारे साम्लो,ख्याली, तुहा, ताम्के, यालाङ पालाम, केसामी साम्लो प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रम सञ्चालकसमेत रहेका सहसचिव राजन नेम्वाङले एभरेष्ट टाइम्सलाई जानकारी दिए ।
लिम्बु समुदायका विभिन्न चाडपर्वहरुमध्ये याक्वा तङ्नाम एक विशेष चाड मनिन्छ, जुन पर्व विगत केही वर्षदेखि निरन्तर वार्षिकरुपमा सेवारो कलाकार संघ यूकेले पनि बेलायतमा मनाउँदै आएको छ ।






