
काठमाडौँ । नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताए । दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भने, “यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।”
प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिनुभएको बताए । राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उनले भने, “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ ।”
प्रकाशित : ९ वैशाख २०७५






