यी हुन् अनेसासको अध्यक्षका उम्मेदवार सुरेन उप्रेतीका ९ प्रतिबद्धता

SHARE:

लन्डन ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका क्यानडावासी सुरेन उप्रेतीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । उप्रेतीले अनेसासको आफ्नै भवन निर्माण,साहित्यिक अभिलेखको संस्थागत व्यवस्थापन,नेपाली साहित्यको विश्वव्यापी विस्तारलगायत ९ प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

समाजको केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन आउँदो जुलाई ७ र ८ मा निर्वाचन हुँदैछ । उनी विगत चारदशक देखि साहित्य सिर्जना र सङ्गठन निर्माणमा निरन्तर लाग्दै आएका छन् । धेरै ऐतिहासिक कार्यहरू गर्नुपर्ने रहेकाले आफूलाई आउँदो निर्वाचनमा अनमोल भोट दिएर विजय उनले अनुरोध गरेका छन् ।

१) अनेसासको आफ्नै भवन निर्माण :
तीन दशकभन्दा लामो समयदेखि अनुभूत आफ्नै भवनको आवश्यकतालाई यथार्थमा परिणत गर्दै, संस्थाको स्थायी पहिचान र गौरव स्थापित गर्ने।

२) साहित्यिक अभिलेखको संस्थागत व्यवस्थापन:
हरेक दुई वर्षमा पुरस्कारका लागि प्राप्त सम्पूर्ण कृतिहरूको विधागत सूची तथा पुरस्कृत कृतिहरूको स्थायी डिजिटल अभिलेख तयार गरी अनेसासको साहित्यिक इतिहासलाई व्यवस्थित बनाउने।

३) नेपाली साहित्यको विश्वव्यापी विस्तार:
नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालयहरू तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी उत्कृष्ट नेपाली कृतिहरूलाई विश्वका प्रमुख भाषामा अनुवाद तथा प्रवर्द्धन गर्ने अभियानलाई तीव्रता दिने।

४) लेखकहरूको डिजिटल अभिलेख:
विश्वभरका नेपाली स्रष्टाहरूको परिचय, कृतित्व र योगदान समेटिएको आधिकारिक डिजिटल लेखक–डाटाबेस निर्माण गरी भावी पुस्ताका लागि स्थायी सन्दर्भ सामग्री तयार गर्ने।

५) नेपाली भाषा शिक्षामा एकरूपता:
नेपाली भाषा शिक्षण सामग्रीलाई स्तरगत रूपमा परिमार्जन गर्दै प्रत्येक महादेशमा गुणस्तरीय अनलाइन नेपाली भाषा कक्षा सञ्चालन गर्न साझा पाठ्यसामग्री र समन्वय प्रणाली विकास गर्ने।

६) समावेशी, निष्पक्ष र संस्थामुखी नेतृत्व :
अनेसासलाई गुट, उपगुट र राजनीतिक प्रभावबाट माथि राख्दै विश्वका सबै च्याप्टरहरूसँग समान सम्मान, समान अवसर र समान सहकार्यको संस्कृतिलाई सुदृढ बनाउने।

७) भाषा, संस्कृति र अग्रजप्रतिको सम्मान :
‘हजुरबुबा–हजुरआमा दिवस’ र ‘नेपाली पोशाक दिवस’लाई नेपाल सरकारबाट औपचारिक मान्यता दिलाउन पहल गर्ने तथा अग्रजहरूको सम्मान र अनुजहरूको प्रोत्साहनलाई संस्थागत परम्पराका रूपमा अझ सशक्त बनाउने।

८) सशक्त सचिवालय र विश्वव्यापी सहकार्य :
नेपाल च्याप्टरसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अनेसास सचिवालयलाई सुदृढ, सक्रिय र प्रविधिमैत्री बनाउने; प्रकाशित कृतिहरू विश्वका सबै च्याप्टरसम्म सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाउने।

९) संस्था पहिलो, व्यक्ति पछि :
मेरो प्राथमिकता व्यक्तिगत प्रचार होइन, अनेसासको संस्थागत विकास, पारदर्शी सुशासन, उत्तरदायी नेतृत्व र दीर्घकालीन कार्यसंस्कृतिको निर्माण हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!