— शिवकुमार गुरुङ र मीना गुरुङ
मिति २९ जुन २०२६को सोमबारको दिन बेइजिङको ‘लेजेन्डेल होटल’बाट बिहान ७:३० बजे सुरु भएको हाम्रो यात्रा करिब डेढ घण्टाको सडक पार गर्दै ‘मुतियायु’ (Mutianyu) ग्रेटवालको प्रवेशद्वारमा पुग्यो। संसारको सात आश्चर्यमध्ये एक र मानव निर्मित सबैभन्दा लामो सुरक्षा परियोजनाका रूपमा परिचित यस विशाल पर्खालको इतिहास सातौँ शताब्दी ईसापूर्वदेखि सुरु भएको मानिन्छ। आज हामीले देख्ने अधिकांश भाग मिङ राजवंशको समयमा पुनर्निर्माण र सुदृढीकरण गरिएको हो। चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनको सन् २०१२ को सर्वेक्षण अनुसार यसको कुल लम्बाइ करिब १३,१७०.७ माइल (२१,१९६.१८ किलोमिटर) रहेको छ।
ढुङ्गा, इँटा र स्थानीय सामग्रीले निर्मित यस पर्खालका सुरक्षा चौकीहरूले तत्कालीन समयमा शत्रुको निगरानी र खाद्य भण्डारणका लागि कति महत्त्वपूर्ण भूमिका खेल्थे भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न पाउँदा म रोमाञ्चित भएँ। आधुनिक मेसिनरी सुविधा नभएको त्यो युगमा, लाखौँ मजदुर, सैनिक र कैदीहरूले निकै कठिन परिस्थितिमा घोडा र खच्चरको प्रयोग गरी यति विशाल भौतिक संरचना खडा गर्नु आफैँमा एउटा कल्पनाबाहिरको आश्चर्यजनक कार्य हो। ग्रेटवालको उकालो-ओरालो हिँडाइ निकै सकसपूर्ण भए तापनि १९औँ ‘अब्जरभेसन पोस्ट’ सम्म पुग्दाको दृश्यले मनै लोभ्यायो।
यात्राका क्रममा मैले ‘तमु समाज युके’को लोगो अङ्कित झोला बोकेर र त्यसलाई प्रदर्शन गर्दै केहीबेर हिँडेर संस्थाप्रति सम्मान व्यक्त गरेँ। साथै, बहिनी गङ्गा देवी गुरुङ र तमु समाज युकेकी आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ दिदीले उपहारस्वरुप दिनुभएको नेपाली ढाका टोपी लगाएर उहाँहरूको माया र सम्झनालाई ग्रेटवालको शिखरमा समर्पित गरेँ। ६० वर्षभन्दा बढी उमेरका लागि चेयर-लिफ्टको अनुमति नहुने रहेछ, त्यसैले फर्कँदा पनि हामी केबल कारकै प्रयोग गर्यौं।
ग्रेटवालपछि हामीले परम्परागत ‘टी सेरेमोनी’ (Tea Ceremony)को अनुभव लियौँ। चिनियाँ संस्कृतिको अभिन्न अङ्ग मानिने यो विधिमा चियाका प्रकार, स्वास्थ्यका लागि यसको महत्त्व र चिनियाँ राजपरिवारमा चिया पिउने शैलीबारे निकै रोचक जानकारी पायौँ। त्यसपछि हामीले ‘जेड (Jade)’ कारखानाको भ्रमण गर्यौं , जहाँ जेड ढुङ्गाको पहिचान, त्यसको बनावट र प्राचीन चीनमा यसको आध्यात्मिक तथा भौतिक महत्त्वबारे जान्ने अवसर मिल्यो। त्यसपश्चात् चिनियाँ बफेट रेस्टुरेन्टमा भोजनको स्वाद लिएर हामी करिब डेढ घण्टाको यात्रापछि लामा टेम्पल (Yonghe Temple) पुग्यौँ।
संयोगवश, सो दिन पूर्णिमा परेकाले लामा टेम्पलमा भक्तजनहरूको बाक्लो उपस्थिति थियो। यहाँको मुख्य आकर्षण २६ मिटर अग्लो (८ मिटर जमिनमुनि र १८ मिटर जमिनमाथि रहेको) मैत्रेय बुद्धको प्रतिमा हो, जुन एउटै सेतो चन्दनको रूखबाट कुँदिएको छ। ऐतिहासिक तथ्यअनुसार, यो प्रतिमा तिब्बतको सातौँ दलाई लामाले चिनियाँ सम्राटलाई उपहारस्वरुप दिएको मानिन्छ। यहाँ पर्यटक तथा आगन्तुकहरू यसको इतिहास अवलोकन गर्न, धूप बाल्न र प्रार्थना गर्न आउँछन्। संस्कृति तथा अध्यात्मप्रेमीहरूका लागि यो अवश्य हेर्नुपर्ने स्थल हो। मन्दिरमा धूप बाल्ने विधि (१ पुस्ताका लागि ३, दुई पुस्ताका लागि ६ र तीन पुस्ताका लागि ९ वटा धूप) अनुसार हामीले पनि प्रार्थना गर्यौं ।
लामा टेम्पलको दर्शनपश्चात् हामीले बेइजिङको पुरानो बसोबास क्षेत्र ‘हुतु’ (Hutong) को अवलोकन गर्ने अवसर पायौँ। हुटोंगहरूलाई बेइजिङ संस्कृतिको ‘जीवित संग्रहालय’ मानिन्छ। यद्यपि सहरी विकासका कारण धेरै हुटोंग हराइसकेका छन्, बाँकी रहेका केहीलाई ऐतिहासिक तथा सांस्कृतिक मूल्यका कारण संरक्षण गरिएको छ। साना-साना गल्लीहरू र परम्परागत घरहरूले भरिएको यो ठाउँमा नयाँ संरचना र व्यावसायिक केन्द्रहरूको विकासले आधुनिकता र परम्पराको सुन्दर मेल देखियो।
हाम्रो यस तीनदिने चीन भ्रमणलाई ज्ञानवर्धक बनाउनुहुने हाम्रा सहयोगी टुर गाइड श्रीमती अरोरा (Mrs. Arora) प्रति हामी विशेष धन्यवाद व्यक्त गर्दछौँ। उहाँले विभिन्न ऐतिहासिक स्थलहरूको व्याख्या र विश्लेषण गर्दै हाम्रो यात्रालाई निकै सहजीकरण गर्नुभयो। साथै, यस भव्य र ऐतिहासिक भ्रमणको सम्पूर्ण व्यवस्थापन मिलाइदिनुहुने मेरा प्यारा छोरा सन्जय गुरुङ र बुहारी जिना गुरुङप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईँहरूको यो स्नेह, तत्परता र प्रयासले हाम्रो यात्रालाई साँच्चिकै उत्कृष्ट र अविस्मरणीय बनाएको छ।









