काठमाडौं । सुनसरी घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहित ९ दलले संयुक्त वक्तव्य र अपिल जारी गरेका छन् ।
सुनसरीसहित विभिन्न जिल्लामा विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरिएको हो । रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बुधबार (साउन १३)मा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि जारी वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कुनै पनि गतिविधिबाट खल्बल्याउन नहुने उल्लेख गर्दै सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ। आवेग र उत्तेजनाभन्दा संवाद र सहमतिबाट समस्याको समाधान खोज्नुपर्नेमा पनि जोड दिइएको छ।
]






