काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय हजार डलर नाघेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको हो ।

बुधबारको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ । पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।
यसवर्ष मुलुकको अर्थतन्त्र झण्डै ६ प्रतिशतले विस्तार हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको हो ।
वर्तमान सरकारले बजेटको मध्यावधि समीक्षामा प्रक्षेपण गरेको भन्दा यो वृद्धिदर ०.११ प्रतिशत विन्दुले कम हो। चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा ६ प्रतिशतको वृद्धि अपेक्षा गरिएको थियो।
गतवर्ष ६.९ प्रतिशतले बढेको कुल गार्हस्थ उत्पादन (जीडीपी) यसवर्ष पनि तुलनात्मक रुपमा उच्च रहेपछि प्रतिव्यक्ति आय समेत बढेको विभागको भनाइ छ।






