साइत गुज्रेको ‘वाम एकता’, एकताकै रटानमा ओली–प्रचण्ड

SHARE:

काठमाडौं । असोज १७ गते आफ्नै नेता कार्यकर्ता र बाँकी दुनियालाई समेत चक्मा दिंदै पार्टी एकताको घोषणा गरेका थिए नेकपा एमाले र नेकपा माओवादी केन्द्रले । तत्कालिन अवस्थामा चुनाव केन्द्रित गठबन्धन बनाए पनि चुनावलगत्तै पार्टी एकता गर्न पार्टी एकता संयोजन समिति बनाएका दुई पार्टीले गत फागुन ७ गते एकताका सैद्धान्तिक सहमति गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरे । मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्दै माओवाद, जनताको बहुदलीय जनवाद, २१औंशताब्दीको जनवादलगायतका विषयलाई महाधिवेशनसम्म छलफलमा लैजाने सहज निर्णय गरेका एमाले माओवादीबीच पछिल्ला दिनमा भने एकतामा केही उल्झनहरु देखिएका छन् ।

एकता कार्यक्रममै हंगामा
पार्टीको संगठन र सैद्धान्तिक विषयलाई टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल गठन भएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन ढिलो गरी पार्टी एकता संयोजन समितिलाई पनि बुझायो । तर, त्यसपछि लामो समयसम्म न त संयोजन समिति बैठक बस्यो, नत दुई पार्टीका अध्यक्षबीच नै छलफल भयो । लेनिन जयन्ती र नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने सहमति गरेका दुई पार्टीबीच पार्टी एकता हुन सकेन । बरु, नेकपा स्थापनाकै दिन दुई पार्टीबीच अझै धेरै कुरा मिल्न बांकी रहेको संकेत देखियो ।

कम्युनिष्ट पार्टी स्थापनाको दिन संस्थापक पुष्पलाल श्रेष्ठकै व्यानर मुनी लेनिनको विषयमा लफडा भयो । पार्टी एकताको सन्देश दिन संयुक्त रुपमा आयोजना गरिएको सभामा लेनिन लेनिन तस्वीर नदेखिएपछि माओवादी कार्यकर्ताले हंगमा गरे । त्यसलाई साम्य पार्न व्यानर निकालियो । त्यसपछि एमाले कार्यकर्ताहरुले प्रतिहंगमा चलाए ।

मध्यान्न १२ बजे हुने भनिएको कार्यक्रम निकै ढिला मात्र सुरु भयो । हुन त, एमाले माओवादीका लागि लेनिनको नाम केवल पार्टीको मार्केटिङका लागि आवश्यक हो । लेनिनले कल्पना गरेको समाजवाद र लेनिनवादी संगठनात्मक सिद्धान्त त्यागि सकेका दुवै पार्टीका लागि लेनिनको नाम केवल भोटका लागि मात्रै हो ।

कम्युनिष्ट विचारधारा धेरै पहिला त्यागेर सामाजिक जनवादी पार्टीको हैसियतमा चलेका पार्टीहरुबीचमा फोटोका विषयमा विवाद बढ्नुलाई उदेकलाग्दो मान्न सकिन्छ ।

पार्टी एकतामा केही आन्तरिक विषयमा सम्झदारी नहुँदा तत्काललाई एकता टरेको नभई सर्‍यो मात्र ।

पार्टी एकताका लागि सैद्धान्तिक विषयमा त्यति विवाद छैन, तर एकीकृत पार्टीमा कसका कति नेताहरु पार्ने विषयमा बढी नै पेचिलो बनेको छ । शिर्ष नेताहरुको व्यक्तिगत इगो व्यवस्थापन महत्वपूर्ण चुनौती बनेको छ । माओवादीका लागि जनयुद्ध शब्दको ब्याख्या जरुरी छ, एमालेका लागि दुई पार्टीको वर्तमान हैसियतका आधारमा केन्द्रीय कमिटी बनाउनुपर्छ भन्ने मत छ । र, सबैभन्दा ठूलो आशंका त, एकीकृत पार्टीमा भोलि बन्ने गुटहरु कसको बलियो बन्छन् र आफुहरुलाई भित्तामा पुर्याउने पो हुन कि भन्नेमै छ ।

एकता हुन नसक्नुमा दुवै पार्टीभित्र नेतृत्वलाई आन्तरिक तथा बाह्य दवाव दिनप्रतिदिन बढ्दै छ । रात रहे अग्राख पलाउने मुलुकमा पार्टी एकतामा ढिलाई हुंदैगर्दा एकता विरोधी शक्तिहरु बलियो बन्दै गएका छन् । दुवै पार्टीका घरायसी समस्याहरु सुल्झिइसकेका छैनन् । यस्तो, अवस्थामा पार्टी एकताको अग्रिम मिति तोक्नु उपयुक्त नहुने तर एकता भने हुने नै निस्कर्ष निकालेको छ ।

एकता ढिलाईका लागि दिनदिनै कारणहरु बढ्दै गएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटक–पटक भएका ‘वान टु वान’ वार्तापछि पनि पार्टी एकतालाई अन्तिम रुप दिन सकेन । एकीकृत पार्टीको नाम स्थापनाकाल २००६ मा राखिएको नेपाल कम्युनिस्ट पार्टी राख्ने र स्थापनाकै ७८ वर्षमा शक्तिशाली कम्युनिष्ट पार्टी घोषणा गर्ने जनस्तरको सपना पुरा हुन अझै समयलाग्ने देखिएको छ ।

एकताकै रटानमा ओली–प्रचण्ड
एमाले र माओवादी केन्द्रबीच कम्युनिष्ट दिवसको अवसरमा पार्टी एकता गर्ने भनिए पनि औपचारिक घोषणा भएन । तर दुवै दलले संयुक्त कार्यक्रमको आयोजना गरि आम मतादाता र कार्यकतालाई एकता हुन्छ भन्नेमा भने ढुक्क बनाउन प्रयत्न गरेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिबाट आयोजित संयुक्त सभामा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि दोष दिएर जिम्मेवारीबाट पछि हट्न छुट नभएको भन्दै आफुहरुलाई पार्टी एकता बाहेक अर्को विकल्प नभएको बताए ।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता गरेपछि पनि नेपाली जनताले दिएको मतले आफुहरुको जिम्मेवारी अझै थप भएको बताए । युद्ध, शान्ति, सम्झौता, हतियार व्यवस्थापन, सेना समायोजन र संविधान लेखनका समस्या समाधान गरेका स्मरण गर्दै उनले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने भरोसामा आफुहरुलाई जनताले विश्वास गरेको बताए । आफुहरुलाई जनता र नेता कार्यकर्ताले घेरेको बताउंदै उनले अब पार्टी एकतामा दायाँबायाँ गरेमा दुई अध्यक्षलाई जनताले छुट नदिने धारणा राखे ।

कुनै पनि कार्यक्रममा सहभागीहरुलाई हसाउंदै उत्साहित गर्न काविल एमाले अध्यक्ष ओलीले जुत्ता नमिले पनि खुट्टा ताछेर लगाउनुपर्ने समय आएको भन्दै एकताका लागि कसैले पनि आफुले भनेको मात्र नहुने सांकेतिक टिप्पणी गरे । अध्यक्ष ओलीले सम्मान र समानताको आधारमै एकता हुने प्रतिवद्धता पनि जनाए ।

नेपालको कम्युनिष्ट आन्दोलन एक निष्र्कषमा पुग्न अग्रसर भएकाले उचाईमा पुग्न लागेको आन्दोलनलाई उचाईमै पुर्‍याउने विश्वास व्यक्त गरे । १६ बुँदे सहमतिको आधारमा संविधान निर्माण हुने आधार तयार भएको स्मरण गर्दै ओलीले अब प्रचण्ड र केपी ओलीले नमाने पनि एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरे ।

वाम एकताकै कारण नेपालमा मात्र दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार बनेकाले शाक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर एकता, समृद्धि र विकासमा लाग्नुपर्ने प्रचण्डको भनाइ छ । उनले पार्टी एकताका लागि वैचारिक, नीतिगत र संगठनात्मक मोडालिटिमा पनि सहमित भएको जिकिर गरे । प्रचण्डले कसैले कसैलाई अपमानित गरेर एकता गर्नुहुदैन भन्दै समानता, सम्मान र न्यायोचित रुपमा परिस्थिति र बुद्धिमतालाई ख्याल गरेर मात्र एकता गर्नुपर्ने बताए ।

असोज १७ गते जसरी अप्रत्यासित वाम गठबन्धन भयो अव पनि त्यसरी नै आश्चयचकित पार्ने गरि पार्टी एकता घोषणा हुने प्रचण्डको भनाई छ । एकतामा एक अर्कालाई सम्मान गर्नुपर्ने र आफ्ना असहमतिलाई त्यागी अघि बढ्नुपर्ने उनले बताए ।

किन मिल्दैनन् कम्युनिष्ट ?
माओवादी युद्धकालको चरम अवस्थामासामना परिवारका कलाकार कर्णबहादुर परियारले एउटा गीत लेखेका थिए । युद्धकालको चरम अवस्थामा परियारले गीत लेखिरहंदा उनीसम्वद्ध नेकपा माओवादीभित्रै शिर्ष नेताहरुबीच मारामुंग्री चलिरहेको थियो । झण्डै एक दर्जन बढी कम्युनिष्ट पार्टीहरु थिए । माओवादीभित्रको अवस्थाबारे गीतबाट चर्चा गरेपनि यो गीतले सिंगो कम्युनिष्ट पार्टीहरुभित्र रहेका प्रवृत्तिहरुबारे प्रश्न उठाएको थियो ।

अधिकांस कम्युनिष्टहरुले आफ्नो मुल घरबाट बसांई सर्नुको ठुलो कारण देखिदैन । कसैले दस्ताबेजमा कमा नपुगेको त कसैले दस्ताबेजमा फुलिस्टप छुटेको निहुं निकाल्दै मुल घर छाड्ने अभियान नेपालमा कम्युनिष्ट पार्टी जन्मिएको केही वर्षबाटै सुरु भएको थियो ।

रुसका खु्रश्चेवलाई हेर्ने दृष्टिकोण होस या माओकी कान्छी श्रीमतीलाई बुझने सवाल होस । कम्युनिष्ट पार्टीहरु फुटेका छन् । छिमेकीलाई हेर्ने कुरा हुन् वा जनबाद भन्ने की लोकतन्त्र, पार्टी नफुटको समयै छैन । नौलो भन्ने कि नयां होस वा उपनिवेश भन्ने कि औपनिवेश यस्ता झिना मसिना कुरा कम्युनिष्ट पाटी बिभाजनको कारक बन्ने गरेका छन् ।

त्यसो त नेपाली कम्युनिष्टहरुले आफुलाई अझै पनि लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित कम्युनिष्ट पार्टी भन्ने दाबी गर्छन् । लेनिनले प्रतिपादन गरेको जनबादी केन्द्रियता आफ्नो पार्टीको संगठनात्मक सिद्धान्त हो पनि भन्छन् । तर नेपाली कम्युनिष्टहरुभित्र हेर्ने हो भने कतै बर्षौ देखि महाधिवेशन नै नभएका, कतै दशकौं सम्म एउटै ब्यक्तिले पार्टी नेतृत्व हांकेको त कतै संगठनको ब्यवस्थापन नै नभएको दृष्य नै घनिभुत रुपमा देख्न सकिन्छ ।

२००६ साल बैसाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन विरुद्धको जनसंघर्ष आदि थिए । जसका संस्थापक महासचिव पुष्पलाल थिए । सन् १९४९ सेप्टेम्वर १५ मा मोतिदेवी श्रेष्ठलाई थप्न प्रस्ताव गरिएको थियो । पार्टीको संस्थापक सदस्य मोतिदेवी हुन की हैनन् भन्ने विषयमा पार्टी एकता गर्न लागेका एमाले र माओवादी केन्द्रबीच अझै पनि विवाद छ ।

ने.क.पा.को प्रथम सम्मेलन वि.स. २००८ असोज
(१९५१ सेप्टेम्वर २२) मा कलकत्ता नै भएको थियो । २००८ साल कार्तिक २० गते नेपाल भारत सन्धिको विरोध गरेकाले चिनिया काजीमान श्रेष्ठलाई सरकारले हत्या गर्‍यो । २००९ माघ ९ गते डा. के आई सिंहद्धारा जेल विद्रोह गरे, यसैलाई निहु बनाएर २००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाईयो । ने.क.पा. स्थापनापछि २००६ भदौ ३० गते पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गरेका थिए ।

ने.क.पा.को प्रथम महाधिवेशन २०१० साल माघ १७–२५ सम्म काठमांडौमा भएको थियो । जसमा पुष्पलाल श्रेष्ठले संविधानसभाको निर्वाचन र डा. केशरजङ्ग रायमाझीले वैधानिक राजतन्त्रको समर्थन गर्दै दुई वटा प्रस्ताव महाधिवेशनमा प्रस्तुत भयो । कम्युनिष्ट पार्टीको प्रथम अधिवेशनदेखि नै पार्टीभित्र फुट र बिचलनको बिजारोपण भयो । एउटा कम्युनिष्ट पार्टीले राजालाई समर्थन गरेर जाने प्रस्ताव आउंदा बिचलन आउनु स्वाभाबिक थियो ।

२०१७ साल फागुनमा भारतको दरभंगामा १ महिनासम्म दरभंगा प्लेनम भयो । प्लेनममा २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी थिए । जहां मोहनविक्रम सिंहले संविधानसभाको निर्वाचनको लाइन ल्याए, पुष्पलाल श्रेष्ठले विघटित संसदको पुनस्र्थापना थिए । केशरजंग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थनको लाइन ल्याए । प्रस्तावमा मतदान हुँदा मोहनविक्रमले २८ मत, रायमाझीले १७ मत र पुष्पलालले ६ मत प्राप्त गरेका थिए भने केन्द्रीय समितिको बहुमत पुष्पलालको पक्षमा थियो । ९ महिनाभित्र महाधिवेशन गर्ने अनिर्णित व्यवस्थामा नै प्लेनम समापन भयो । २०१८ सालमा पुष्पलाल र तुलसीलाल अमात्यको अग्रसरतामा अन्तरजोन सामजञ्य समिति गठन भयो । यो समिति गठन गर्नु पार्टी नीति विपरित भएको र समानन्तर पार्टी भनी पुष्पलाल, तुलसीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई २०१९ मा पार्टीबाट निश्कासन गरियो । क्रमशः त्यस यता लगातार कम्युनिष्ट पार्टी खपण्डत, बिभाजित र टुक्रे अवस्थामा छन् । आजका एमाले र माओवादी केन्द्र दुई अलग धारको प्रतिनिधित्व गर्छन् ।

२०१९ सालबाट सुरु भएको फुटको श्रृंखला २०७४ सालसम्म आईपुग्दा पनि जारी रह्यो । बीचबीचमा एकताको अभियान भने नभएको हैन । तत्कालिन नकपा माले र माक्र्सवादीबीच एकता भएर २०४७ सालमा नेकपा एमाले बन्यो । मोटो मसाल, विद्रोही मसाल, नेकपा चौम र सर्वहारावादी श्रमिक संगठन लगायतका साना पार्टी मिलेर नेकपा एकताकेन्द्र बन्यो । नेकपा एमाले महाकाली सन्धीका कारण फुट्यो । नेकपा एकताकेन्द्र जनयुद्ध सुरु गर्ने या नगर्ने भन्ने विषयमा विवाद भएर फुटेर नेकपा माओवादी बन्यो । माओवादी पनि २०७४सम्म धेरै टुक्रामा विभाजित भयो ।

आज, नेकपा एमाले र मूलधारको नेकपा माओवादीले दुई अलग अलग विचारधाराको नेतृत्व गर्दै देशका दुई ठूला कम्युनिष्ट पार्टीको हैसियत बनाइरहेका छन् । यिनै अलग धाराका पार्टीहरु अहिले एकीकृत बन्दै नेपाल कम्युनिष्ट पार्टी बन्न खोज्दैछन् । नेपालका कम्युनिष्टहरु फुट्नमात्र जान्दछन्, जुट्न जान्दैनन भन्ने आम स्वीकृतिलाई च्यालेन्ज गर्नकै लागि एमाले र माओवादी केन्द्रले एकताको प्रक्रिया सुरु गरेका हुन् । दुई अलग धारको नेतृत्व गरेका नेपालका ठूला पार्टीबीच हुने पार्टी एकीकरणले कम्युनिष्ट विचारधाराको पक्षपोषण गर्नेहरुमात्र उत्साहित बनेका छैनन्, शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वमा देश विकास र समृद्धिको दिशामा अघि बढ्छ भन्ने विश्वासका साथ आम जनता समेत उत्साहित छन् । यतिबेला, यी दुई पार्टीका नेताले गर्ने सानो गल्तीले पनि दुई पार्टीको नेतृत्वलाई भोलिको दिनमा गम्भीर क्षति पुग्ने देखिन्छ । सैद्धान्तिक विचारधारा भन्दा पनि पदीय व्यवस्थापनका कारण एमाले माओवादी एकता प्रक्रियामा ढिलाई भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!