गल्ती सच्याएर अघि बढ्न सरकारलाई काङ्ग्रेसको सुझाव, विरोध कार्यक्रम नरोकिने

SHARE:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताए । काङ्ग्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पुर्‍याएको भन्दै यसअघि सङ्घीय संसद् अवरुद्ध गर्दै आएको थियो । सरकार र सदनका केही कामकारवाहीको विरोधमा यही माघ २१ गते राष्ट्रव्यापी विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी गराउँदै उनले भने, “राष्ट्रव्यापी विरोध प्रदर्शनको सम्बन्धमा सबै जिल्लामा आवश्यक तयारी प्रारम्भ भइसकेको छ ।”

संसद्मा माघ ११ गते भएको घटना, डा गोविन्द केसीको अनशनप्रति सरकारको संवेदनहीन व्यवहार, कोइरालद्वयका नामका अस्पताललाई नामेट गर्न गरेको दुष्प्रयास, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गरेको घटनालाई विरोधका मुख्य मुद्दा बनाइने उनले जानकारी दिए ।

प्रवक्ता शर्माले भने, “देशव्यापीरूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सम्बन्धित पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको छ महीना पुगी सक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दामा प्रदर्शन केन्द्रित हुनेछ ।”

वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस्

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिकसमेत गरिसकेको जानकारी गराउँदै प्रवक्ता शर्माले वाइडबडी जहाज खरीदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढङ्गले छानबिन गर्न पार्टीले संसद्मा र सार्वजनिकरूपमा पनि आवाज उठाउँदै आएको स्पष्ट पारे । विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने उनको भनाइ थियो ।

त्यस्तै बूढी गण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि के रहस्य लुकेको छ भनी प्रश्न गर्दै उनले आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा ढिलासुस्तीको विषय विरोध प्रदर्शनमा उठाइने जानकारी दिए ।

काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउँदै तिनलाई उद्धार गरी सकुशल स्वदेश फर्काउन तत्कालै पहल गर्न र त्यसमा संलग्न दोषीलाई कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!