क्होला सोंथर बचाउन सिक्लेसमा बहस

SHARE:

रोशनी गुरुङ
सिक्लेस । ऐतिहासिक भूमि क्होला सोंथरको संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे इतिहासविद्, संस्कृतिविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कास्कीको मादी गाउँपालिकाको आयोजनामा शुक्रबार मादी १ सिक्लेसमा भएको अन्तरक्रिया कार्यक्रममा तमु संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, तमुधिं युकेको क्होला सोंथर अध्ययन भ्रमण टोलीसहित पत्रकार, स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ जातिको आदिम थलोको रुपमा चिनिँदै आएको क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा राख्नका निम्ति पहल गर्न केन्द्रीय सरकारसँग आग्रह गरे । युनेस्कोको मापदण्डमा पुर्‍याएर क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा पार्न उनले प्रदेश सरकारका तर्फबाट सिफारिस गर्ने बताए । तमु भाषा र संस्कृतिको विकास क्होलामा कम्तीमा पनि २ हजार वर्ष पहिले भएको भन्दै अब क्होलाको संरक्षण र विकास कसरी गर्ने भन्नेबारे स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिएर क्होलाको विकास र प्रचारमा सबै जना जुट्न आग्रह गरे ।
अर्को फरक प्रसङ्गमा उनले प्रदेश नं. ४ को ३ सय वटा गाउँमा अबको पाँचभित्र होमस्टे सञ्चालन गर्ने तथा प्रत्येक घरमा धारा र बिजुली पुर्‍याउने बताए । होमस्टेमार्फत स्थानीय उत्पादनलाई जोड दिएर महिलाहरुको आय आर्जनमा वृद्धि गर्ने तथा गाउँ छोडी गएकाहरुलाई गाउँ सम्झेर बाडुल्की लाग्ने स्थितिमा आपूmले पुर्‍याउने बताए ।

सोही कार्यक्रममा प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले क्होलाको संरक्षण गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको भन्दै सरकार र जनता सबै यो कुरामा सचेत हुनुपर्ने बताए । क्होला सोंथरको भग्नावशेष मात्र देखारएर यसलाई विश्व सम्पदा सूचीमा पार्न नसिकने भन्दै अब यसको बारेमा अध्ययन, विकास र संरक्षण गर्न जरुरी रहेको उनको थियो ।

कार्यक्रममा प्रा.डा. जगमान गुरुङले कार्यपत्र प्रस्तुत गर्दै १२औं शताब्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्नुपर्ने र यसलाई लिपिबद्ध गर्नुपर्ने धारणा राखे । साथै उनले क्होला सोंथरको विकास र संरक्षणका निम्ति मादी गाउँपालिकालाई २५ बुँदे सुझावसमेत पेस गरे । अन्तरक्रिया कार्यक्रममा बेलायतस्थित तमुधिं युकेको टोली एकहप्ते क्होला सोंथर अध्ययनपछि सहभागी भएको थियो । कार्यक्रममा बोल्दै तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले राम्रो र सकारात्मक कामको लागि तमुधिंले सधैं सहयोग गर्ने भन्दै विकास निर्माणको काममा सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा तमुधिं नेपालकी अध्यक्ष कर्म तमु, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी तमु, तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) का अध्यक्ष रेशम तमु, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्ण गुरुङलगायतले बोलेका थिए ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेलले स्वागत तथा गाउँपालिकाका परामर्शदाता नरेश पौडेलले क्होला सोंथरको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समुद्र सतहदेखि ३ हजार ३ सय ३० देखि ४ हजार २ सय मिटरको उचाइमा फैलिएको क्होलासोंथर तमु जातिको सभ्यताको र संस्कृतिको विकास भएको स्थल भएकाले यसलाई ऐतिहासिक थलोको रुपमा तमुजातिले मान्दै आएको छ । त्यहाँ पुग्न लमजुङको भुजुङ, घनपोखरा, घलेगाउँ तथा पसगाउँबाट छिटोमा २ दिनमा पुगिन्छ भने कास्कीको ताङतिङ, सिक्लेसबाट एकदिनमा पुग्न सकिन्छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!