एटा संवाददाता
घलेभञ्ज्याङ (नुवाकोट) । साउदी अरबको रियादमा सवारी दुर्घटनामा मृत्यु भएका शिवपुरी गाउँपालिका-५ का अर्जुन नेपालीको शव नेपाल ल्याउने तयारी थालिएको छ ।
३४ वर्षीय नेपालीको शव नेपाल ल्याउन विमानस्थल नजिकको अस्पताल पुर्याइसकिएको साउदी अरबमा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका-५ देउरालीका गणेश तामाङले जानकारी दिए । उनका अनुसार शव कहिले नेपाल पठाउने भन्नेबारे भने नेपाली कार्यरत कम्पनीले दिने टिकटमा भर पर्छ । यही मार्च २२ तारिखका दिन स्कुटर चढी बजार जाने क्रममा नेपालीलाई निजी गाडीले ठक्कर दिँदा ज्यान गएको थियो ।
साउदीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुर्घटनामा परेका नेपालीलाई रियादको किङ खालिद अस्पिटल अल खार्ज सहर लाँदै गर्दा मृत्यु भएको हो ।
साविक महाकाली १ का नेपाली केही वर्षदेखि रोजगारीको सिलसिलामा साउदी पुगेका थिए ।






