चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् । माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई बुधबार सम्बोधन गर्दै उनले विकासमा प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै भने, ‘विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनुपर्छ । शिक्षा क्षेत्रको विकासबाटै देशको विकास सम्भव हुने भन्दै उनले भने, ‘हाम्रा पुर्खा अशिक्षित भएर पनि बैरीसँग लडे, उनीहरुले निर्यात बढाए, हामी शिक्षित भएर पनि आयात बढाउँदैछौँ ।’ शिक्षालाई उत्पादनमुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
शिक्षित युवा विदेश पलायत हुँदै गएको र यहाँ बालबालिका मात्रै रहेको भन्दै उनले यसले देशको विकास नहुने बताए । शिक्षामा सार्वजनिक र निजी सहकार्यका लागि उचित सन्तुलनसहित अघि बढ्नुपर्ने अध्यक्ष दाहालले बताए ।
निकुञ्जपारीको नगरपालिका माडी र भरतपुरका बीचमा दुई देशको जस्तो देखिएको बताउँदै उनले निकुञ्ज ऐन संशोधन गरेर माडीको विकास गर्नुपर्ने बताए । आगामी चार वर्षमा माडीको विकासमा कायापलट हुने बताउँदै उनले आउने वर्षमा सबैले देख्ने गरी माडीको रङ बदलिने बताए ।






