नुवाकोटका घलेभञ्ज्याङसहित जिल्लाभर सार्वजनिक जग्गा मिचेर घर निर्माण, गाउँ र नगरपालिका रमिते बन्दै

SHARE:

नुवाकोट । सार्वजनिक जग्गा मिचेर घर बनाइए पनि स्थानीय सरकारले रोक्न सकेको छैन । पञ्चकन्या गाउँपालिकाको अस्थायी कार्यालय घलेभन्ज्याङमा छ । यही आर्थिक वर्ष सार्वजनिक जग्गामा बनाइएको भवनमा गाउँपालिकाको कार्यालय राखिएको हो ।

पञ्चकन्या गाउँपालिकाको घलेभन्ज्याङमा सार्वजिनक जग्गामा बनाइँदै गरेको घर ।

 

गाउँपालिकाको मूलगेटभन्दा करिब २५ देखि ३५ मिटरमा दुई वटा घरका जग हालिएका छन् । भूकम्प र सडक विस्तारले घरमा असर पुगेपछि स्थानीयले सार्वजनिक जग्गामै पुनर्निर्माण थालेका हुन् ।

घलेभन्ज्याङमा सार्वजनिक जग्गा हडपी बनेका यी घर मात्रै होइनन्, वर्षाैंदेखि ठडिएका दर्जन घरहरू छन् । केही सार्वजनिक जग्गामै बनेका र केही मिचेर बनाइएका । स्थानीय सरकारलाई अटेर गर्दै सार्वजनिक जग्गामा घर निर्माण तीव्र बनेपछि गाउँपालिका अन्योलमा परेको छ । ‘म नजन्मिँदै सार्वजनिक जग्गामा घर बनाइए, केही अहिले बनाइँदै छ,’ पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले भने, ‘हटाउन सूचना जारी गर्दा समेत चुप लगेर बसेका छन् ।’

उनका अनुसार पञ्चकन्या गाउँपालिकाको घलेभन्ज्याङमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ९ घर छन् । घलेभन्ज्याङमा करिब १० रोपनी सार्वजनिक जग्गा छ । त्यसको संरक्षण र आवश्यक परे भोगचलनका लागि सप्तकन्या प्राथमिक विद्यालयलाई दिइएको छ । विद्यालयको उपभोगका लागि जिल्ला वन कार्यालय नुवाकोटले अख्तियारी दिएको साबिकको पञ्चकन्या गाविस वडा १ का पूर्वअध्यक्ष रेलबहादुर तामाङले बताए ।

सप्तकन्या प्राविमा लामो समय व्यवस्थापन समिति अध्यक्ष रहेका तामाङले सार्वजनिक जग्गा हडप्ने होडबाजी चलिरहेको बताए । उनले तत्काल नापी ल्याएर सार्वजनिक जग्गा फिर्ता ल्याउने र संरक्षणको काम गाउँपालिकाले गर्नुपर्ने माग गरे ।

पञ्चकन्या मात्रै होइन, नुवाकोटका विभिन्न ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दाे छ । किस्पाङ गाउँपालिकाको सातदोबाटेमा १ सय ५० धुरीले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएका छन् । ३/४ तले क्रंकिट घर निर्माण भएको गाउँपालिकाले जनाएको छ । ‘अतिक्रमण भइराखेको छ,’ गाउँपालिका प्रमुख छत्र लामाले भने, ‘अहिले डेढ सय धुरी पुगे । बनाइएर बसेका छन्, कसरी हटाउने ?’

त्यसैगरी तारकेश्वर गाउँपालिका ४ बुधसिङमा सडकै मिचेर घर बनाएका छन् । हटाउन पहल गरेर पनि नसकिएको गाउँपालिकाको गुनासो छ । ‘सडक बढाउन पर्‍यो भनेको सकिएन,’ गाउँपालिका प्रमुख रमेश वस्तीले भने, ‘बाटो मिचेर घर बनाएका छन् । के गर्ने ?’ तारकेश्वरमा दर्जनौं घर सार्वजनिक जग्गामा बनेको गाउँपालिकाले जनाएको छ ।

सावर्जनिक जग्गा धेरै अतिक्रमण हुने नगर र गाउँपालिकामा विदुर नगरपालिका, शिवपुरी गाउँपालिका, ककनी गाउँपालिका रहेका जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ ।

त्यसैगरी, सदरमुकाम विदुर नगरपालिकाको देवीघाट, पिलटारमुनि, सिम्बुटार, सिमचौरलगायत स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको छ । ‘हटाउन हामीसँग डन्डा छैन,’ विदुर नगरपालिकाका मेयरसञ्जु पण्डितले भने, ‘कसरी उनीहरूलाई हटाउने ?’
सामुदायिक उपभोक्ता महासंघ नुवाकोटका नारायण नेपालले स्थानीय तहले ऐन बनाएर अतिक्रमण रोक्नुपर्ने बताए । जिल्लामा सार्वजनिक जग्गा कति छ भन्ने तथ्यांक मालपोत कार्यालयले राखेका छैन ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!