कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताएका छन् । तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई बिहीबार नेकपा प्रवेश गराउँदै उहाँले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताए ।

दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट नेपालका सम्पूर्ण कम्युनिष्ट र जनताले ठूलो आशा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले गएको निर्वाचनमा जनताले ठूलो भरोसाका साथ कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको बताए । सम्पूर्ण कम्युनिष्टलाई एकै ठाउँमा एकताबद्ध गराउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “सबै क्षेत्र, समुदायलाई एकताबद्ध गर्दै विकास र समृद्धिको नयाँ अभियानबाट समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ । समाजवाद स्थापनाका निम्ति बाँकी रहेको कम्युनिष्ट एकै ठाउँमा जोडिन आवश्यक छ ।” अहिले कोही कसैलाई गाली गर्नेभन्दा पनि समृद्धिको यात्रामा अघि बढ्ने बेला आएको बताउँदै अध्यक्ष दाहालले हिजो कम्युनिष्टको नाममा त्याग गरेका व्यक्ति विस्तारै नेकपामा समाहित हुने विश्वास व्यक्त गरे ।

विगतमा आफूले नेतृत्व गरेको पार्टी छाडेर गएका नेता कार्यकर्ता पुनःफर्केर आउँदा एउटा अभिभावकका रुपमा आफूलाई अत्यन्त खुशी लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नवप्रवेशी नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताए । उनले विगतमा कम्युनिष्ट आन्दोलनमा देखिएका बेथितिबाट पाठ सिक्दै अहिले एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने आवश्यकताका साथ अगाडि बढिएको बताए ।

नयाँ शक्ति परित्याग गरी नेकपा प्रवेश गर्नेमा सो पार्टीको गोरखा–काठमाडौँ सम्पर्क मञ्चका संयोजक विश्वनाथ अधिकारी, केन्द्रीय परिषद् सदस्य भीम श्रेष्ठ, कृष्ण घिमिरे, महिला शक्ति नेपालको केन्द्रीय सदस्य ज्ञान्द्यरी कैनी, नयाँ शक्ति विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य ज्ञानहरि पराजुली रहेका छन् । सो अवसरमा नवप्रवेशी अधिकारीले विगतमा तत्कालीन नेकपा (माओवादी)मा सक्रिय रहे पनि केही समयअघि नयाँ शक्तिमा समाहित भएर पुनःनेकपा फर्कंदा आफूलाई अप्ठ्यारो अनुभूति भएको बताए । देश र जनताका पक्षमा काम गर्न भनेर आफूहरु नयाँ शक्ति पार्टीमा लागे पनि सो पार्टीले समाजवाद स्थापनाका लागि मार्ग तय गर्न नसकेकाले नेकपामा फर्किएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!