काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नोट बरामद भएको छ । नेपालमा प्रतिबन्धित एक हजार र ५ सय दरका नोट बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारीले जनाए । भन्सारको एक्सरे मेसिनमा भारतीय रकम देखिएपछि भन्सार कार्यालयको समेत सहयोगमा सो नोट बरामद भएको हो ।
करोडौँ भारतीय रूपैयाँसहित दुई पाकिस्तानीलाई प्रहरीको सहयोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले पक्राउ गरेका छन्। भन्सार कार्यालयका कर्मचारीले उनीहरूको साथमा भारतीय रकम रहेको एक्सरेमा देखिएपछि पक्राउ गरेका थिए । कर्मचारीहरूले चेकजाँचको क्रममा उक्त रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छन्। उनीहरू कतारको दोहाबाट नेपाल आएका हुन्। पाकिस्तानबाट दोहा र दोहाबाट नेपाल आएको प्रहरीले जनाएको छ । अहिले बरामद भएको रकम सक्कली वा नक्कली के हो भन्ने पहिचान हुन सकेको छैन। नोट लिन गएको आशंकामा युनुस अन्सारी पनि पक्राउ परेका छन् ।