१७ औं गोर्खा कपको उपाधि एफ.सी. तुङ्बाले जित्यो, भेट्रानतर्फ केन्ट एफ.सी. विजयी

SHARE:

 

एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधि एफ.सी.तुङ्बाले हात पारेको छ । गत आइतबार २६ मे का दिन तमुधिं यूकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गोर्खा कपको १७ औं संस्करण सम्पन्न भएको हो । निर्धारित समयमा खेल १–१ गोलमा टुंगिएपछि पेनल्टी सुटआउटमा रेडिङ्ग युनिटीलाई २ को विरुद्ध ४ गोल प्रहार गरी एफ.सी.तुङ्बा विजयी टिम बन्न सफल भयो । त्यस्तै, भेट्रानतर्फ निर्धारित समय दुवै टिम गोलरहित बराबरीमा टुंगिएपछि पेनल्टी सुटआउटमा ईलाम एफसीलाई २ विरुद्ध ३ गोल हानी केन्ट एफ.सी. विजयी बन्यो ।

३२ वटा टिमले भाग लिएको मुख्य खेलतर्फको खेलमा रेडिङ युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडि बने भने एलजी लायन्सका जर्सी नं. १० सबभन्दा बढी गोल हान्ने खेलाडी बन्न सफल भए । त्यस्तै, १० टिमले भाग लिएको भेट्रान खेलतर्फ एफ.सी. केन्टका भास्कर राई टप स्कोरर बने भने एफ.सी. केन्टकै दिल्लीराज थापा म्यान अफ दि म्याच बन्न सफल भए ।

मुख्य खेलतर्फको विजयी टिमलाई २ हजार ५०० पाउन्ड नगद, शिल्ड, खेलाडीहरुलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता टिमलाई १ हजार ५०० पाउन्ड नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरियो ।
भेट्रानतर्फको विजयी टिमलाई १ हजार २०० पाउन्ड नगद, शिल्ड, खेलाडीहरुलाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । उपविजेता टिमलाई ८०० पाउन्ड नगद पुरस्कार, खेलाडीहरुलाई ट्रफी र प्रमाण पत्र प्रदान गरियो ।
विजेता र उपविजेता टिमहरुलाई प्रमुख अतिथि एवं रस्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजक आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, चिनचिन, शिरोमणि दवाडी, प्रकाश घिमिरे, बाइसन सोलीसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेकओर्थ एकाउन्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा किचन रेस्टुरेन्टका एमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा तमुधिं यूकेले गोर्खा वेलफेयर ट्रष्टलाई ५०० पाउन्ड, रस्मोर बरो काउन्सिललाई ५०० पाउन्ड र विल्डीङ्ग ट्रष्टलाई ३०० पाउन्ड च्यारिटी रकम हस्तान्तरण गरे ।

करिब १० हजार दर्शकको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि सु कार्टर, नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको बारेमा बोलेका थिए । त्यस्तै, तमुधिं यूकेका खेलकुद सचिव एवं गोर्खा कप संयोजक क्याप्टेन पिताम्बर गुरुङले प्रतियोगिताको बारेमा बोलेका थिए भने तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खेलाडी, टिम, प्रायोजक, प्रमुख अतिथि, अतिथि, स्टल उद्यमी, व्यापारी, सहभागी लगायत तमुधिं यूकेका स्वयंसेवक, कार्यसमिति, सल्लाहकार, युथ, आमा समूह लगायत सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक तथा सावित्री पाठक, तमुधिं युकेका नेपाल प्रतिनिधि मेजर लक्षिमीप्रसाद गुरुङ आएका थिए । त्यस्तै, स्थानीय प्रहरी, ब्रिगेड अफका गोर्खाजका अधिकारी, स्थानीय काउन्सिलर र संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई आईडिया फर नेपाल, बाइसन सोलिसिटर्स अल्डरसट, मेकओर्थ एकाउण्टेन्टस् लन्डन, सिटी एक्सप्रेस मनी ट्रान्सफर रेडिङ्ग, कर्मा गोर्खा किचन बेजिङ्गस्टोक, गोर्खा ट्राभल्स अल्डरसट, गोर्खा सेफ रेस्टुरेन्ट न्युवरी, आईएमई लन्डन, एशियन ओरिन्टल सुपर मार्केट, राजु घले, कमल गुरुङ, क्या. राजु गुरुङ, पीपल मोर्गेज, माउसटेल सर्भिसेज, सहारा यूके लगायत विभिन्न व्यक्ति लगायतले नगद तथा जिन्सी पुरस्कार प्रायोजन गरेका थिए ।

बेलायतमा निकै प्रसिद्ध ‘एफ.ए.’ कपको समेत प्रदर्शन गरिएको कार्यक्रममा सपन राईले ‘जहाँ छन् बुद्धका आँखा..’ बोलको गीत गाएका थिए । त्यस्तै, प्रथम गुल्मेली नौमती बाजा समूहले खेल मैदानमा नौमतीको धुन बजाएका थिए । सयपत्री कल्चरल ग्रुपकी कविता घर्तीमगर गुरुङले निर्देशन गरेको ‘स्वागतम् ए हजुर स्वागत् तमुधिं यूकेको गोर्खा कपमा..’ बोलको गीतमा सो समूहका नयाँ पुस्ताका कलाकारहरुले जोडदार नृत्य प्रस्तुत् गरेका थिए । सो गीतलाई तमुधिं यूकेका सल्लाहकार एवं पूर्वप्रअ एकेन्द्र गुरुङले रचना गरेका हुन् । सो अवसरमा गीतकार गुरुङलाई आयोजक तमुधिं यूकेले खादा लगाई बधाईसमेत दिएको थियो । विभिन्न उमेर समूहका दर्शकहरुको सहभागिता रहेकोे कार्यक्रममा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको थियो । गोर्खा रिसोर्सेज ग्रुप (जीआरजी) का ५० जना एसआईए लाईसेन्स होल्डर सेक्युरिटी अफिसर, ३० जना ट्राफिक मार्शल र २० जना स्वयंसेवक गरी करिब १०० जना आन्तरिक सुरक्षामा खटिएका थिए । त्यस्तै, स्थानीय प्रहरीको टिमले विशेष निगरानी राखेका थिए । साथै, आपतकालीन अवस्थाका लागि मेडिकल समूह, फायर सेप्mटी ग्रुप, इमेरजेन्सी द्वारको समेत व्यवस्था मिलाइएको थियो । त्यस्तै, कार्यक्रममा स्थानीय नेपाली सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतियोगितामा रहेका १० वटा रेस्टुरेन्ट, ४० वटा हस्तकला तथा व्यापारीक स्टल र केही स्वयंसेवी स्टलहरु दिनभर खचाखच दर्शकले भरिएको थियो । प्रतियोगितामा भाग लिनका लागि हल्यान्ड, आइसल्यान्ड, बेल्जियम, आयरल्यान्ड र हङकङबाट समेत नेपाली फुटबल टिम आएका थिए ।

प्रतियोगितालाई सफल बनाउनका लागि तमुधिं यूकेले खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरेको थियो । त्यस्तै, प्रतियोगिता सफल बनाउन बनाउन तमुधिं यूकेका पदाधिकारी तथा सदस्य, आमा समूह, युवा समूह, विभिन्न ईकाई, सल्लाहकार र आजीवन सदस्यहरुले समेत आ–आप्mनो क्षेत्रबाट विशेष भूमिका निभाएका थिए ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव तुलाराम गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!